सवारी दुर्घटना न्यूनीकरण गर्न एघारबुँदे नीति पारीत

कात्तिक २० ।उदयपुर,जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरको आयोजनामा भएको सर्वपक्षीय भेलाले सवारी दुर्घटना न्यूनीकरण गर्न ११ बुँदे नीति पारीत गरेको छ ।

उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, नेकपा (एमाले), नेपाली काँग्रेस, एकीकृत माओवादीका जिल्ला नेतासहित पत्रकार, जिल्लाका सम्पूर्ण यातायात व्यवसायीको सहभागिता रहेको बुधबारको भेलाले सवारी दुर्घटना न्यूनीकरण गर्न ११ बुँदे नीति तथा कार्यक्रम ल्याएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरज खवासले बताउनुभयो ।

भेलाले सवारी दुर्घटना न्यूनीकरण गर्न नगरपालिका तथा गाईघाटबजार क्षेत्रलगायत अन्य नगरक्षेत्रका सडकमा ट्राफिक चिह्न तथा सङ्केतको व्यवस्थापन गर्ने, बजार क्षेत्रका फुटपाथ सडकमा सडक अतिक्रमण गरेर व्यापार गर्ने कार्य तत्काल हटाउने तथा बजारका सडकलगायत सडकमा चौपाया नियन्त्रण गर्ने नीति कार्यान्वयन गर्नुपर्ने निर्णय गरेको छ ।

त्यस्तै नियम विपरीत सवारी साधनमा हुड तथा एङ्गल राखिएका सवारीसाधनको हुड तथा एङ्गल तत्काल हटाउन लगाउने, यातायात व्यवसायीले बसपार्क वा टेम्पो स्टेसन, जिप स्टेसनलगायत सवारीका साधनभित्र समेत भाडादरको बोर्ड राख्नुपर्नेसमेत निर्णय भएको छ ।

ट्राफिक नियम सम्बन्धित जिल्लाका मुख्य सडक क्षेत्रमा जनचेतना जगाउने, मदिरा सेवन गरेर सवारी सञ्चालन गर्ने चालकलाई यातायात सङ्घ तथा प्रहरी दुवैबाट कडाइका साथ कारबाही गर्ने,सामुदायिक प्रहरी सेवा समितिलाई ट्राफिक जनचेतना जगाउन सक्रिय बनाइने तथा सवारीको गतिविधिमा कडाइका साथ अनुगमन गर्ने लगायतका नीति तथा कार्यक्रम रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै सवारी साधनको क्षमता र सिटभन्दा बढी एकजना पनि यात्रु राख्न नपाउने र राख्ने सवारीका साधन सञ्चालकलाई तत्काल कारबाही गरिने कार्यालयले बताएको छ ।

सम्बन्धित शिर्षकहरु