
काठमाडौं । पाँच वर्षका लागि स्थायी सरकार बन्ने आशाका साथ जनताले एमाले–माओवादी गठबन्धनलाई मतदान गरेका थिए । तर निर्वाचन सम्पन्न भएको तीन साता बित्न लाग्दासमेत यी दुई पार्टीले स्थायी सरकार गठन हुने विश्वास जनतालाई दिलाउन सकेका छैनन् ।
गत शुक्रबार चितवनमा आयोजित एक सार्वजनिक कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र एमालेका अध्यक्ष खड्गप्रसाद ओलीबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमतिअनुसार नै चुनावअघि तालमेल गरिएको बताएका छन् ।
प्रचण्डको यो भनाइअनुसार पनि पाँच वर्षको यो अवधिमा कम्तीमा दुई वटा सरकार गठन हुनेछन् । चुनावी तालमेलका क्रममै एमाले र माओवादीबीच यथाशीघ्र पार्टी एकीकरण गर्ने सहमति भएको थियो । तर चुनावी परणाम आउँदा आफ्नो पल्लाभारी भएपछि एमालेले थप सर्त अघि सारेको छ ।
एमालेले माओवादीलाई एकीकरणको मर्मभन्दा पनि विलयको नियत राखेका छन् । एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्ष र प्रधानमन्त्री एउटै व्यक्ति बन्ने एमालेको परम्परालाई आँच नआउने गरी पार्टी एकीकरण हुने जनाएका छन् ।
पाँच वर्षका लागि केपी ओली नै प्रधानमन्त्री र पार्टी सभापति हुने र त्यसपछिको अर्को पाँच वर्ष प्रचण्ड प्रधानमन्त्री र पार्टी सभापति हुनेगरी एकीकरणको खाका एमालेले प्रस्तुत गरेको छ । तर अर्को पाँच वर्षपछि हुने निर्वाचनमा पार्टीले बहुमत प्राप्त गर्ने वा नगर्ने भविष्यको गर्भमा रहेकाले जे सहमति गर्नुपर्ने हो, यही पाँच वर्षभित्रैका लागि हुनुपर्ने सर्त माओवादी केन्द्रको छ ।
ओली र प्रचण्डबीच हुने आलोपालोविरुद्ध एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल देखिएका छन् । पहिलो फेजमै ओली प्रधानमन्त्री बन्ने कुरामा माओवादी कति पनि असहमत छैन । ओली प्रधानमन्त्री बन्नुअगावै प्रचण्ड पार्टी अध्यक्ष बनिसक्नुपर्ने र अढाई वर्षपछि ओलीले प्रधानमन्त्री पद प्रचण्डलाई हस्तान्तरण गर्नुपर्ने प्रस्ताव माओवादीको छ ।
तर एमाले भने तत्काल अध्यक्ष पद प्रचण्डलाई दिन तयार छैन । एमाले महासचिव पोखरेलले अध्यक्ष पदसँग एमाले पार्टी साटिन्न भन्ने कडा प्रतिक्रिया दिएका छन् । २०४४ सालमा सेक्टर काण्ड रचेर जबर्जस्ती प्रचण्डले मोहन वैद्यको हातबाट पार्टी नेतृत्व आफ्नो हातमा लिएका थिए ।
यो ३० वर्ष अविछिन्न नेतृत्व गर्दा प्रचण्डले पार्टीको उचाइ तथा संगठन धेरै नै माथि पुर्याएका छन् तर पार्टीभित्र लोकतान्त्रिक अभ्यास शून्य छ । यो ३० वर्षको अवधिमा प्रचण्डले एक पटक पानी पार्टीका महाधिवेशन गराएका छैनन् ।
आफ्नो हातमा पार्टीको नेतृत्व आइसकेपछि प्रचण्डले यही हर्कत त दोहोर्याउने होइनन् रु भन्ने चिन्ता एमाले पार्टी पंक्तिमा देखिएको छ । खासगरी पञ्चायतकालमा काम गरेको एमाले पार्टी पंक्ति प्रचण्डलाई प्रधानमन्त्री पद सुम्पन हुने, तर पार्टीको नेतृत्व भने कुनै पनि हालतमा सुम्पन्न नहुने अडानमा देखिएको छ ।
एमालेकै एकथरी नेता तथा कार्यकर्ताहरु भने प्रचण्डलाई पार्टी सभापति दिँदा कुनै खतरा नहुने तर्क राख्छन् । उनीहरुको भनाई छ–एमाले सिस्टममा चलिसकेको पार्टी हो, कुनै संगठनको अधिवेशन कहिले हुने रु भन्ने क्यालेन्डर नै छ, अहिले अन्तरिम अध्यक्ष बन्दैमा प्रचण्डले त्यो क्यालेन्डर बिथोल्न सक्दैनन् ।
एक वर्षपछि महाधिवेशन हुने भएकाले कुनै खतरा हुँदैन, अढाई वर्षपछि प्रधानमन्त्री बन्ने आशले पनि प्रचण्डले महाधिवेशन बिथोल्दैनन् । पार्टी एककीकरण भइसकेपछि ४० प्रतिशत लिएर फोड्ने सामथ्र्य प्रचण्डले नराख्ने कुरामा एमाले ढुक्क छ ।
यसकारण वामदेव गौतम हारे

कम्युनिष्ट गठबन्धनका सूत्राधार मानिने एमाले उपाध्यक्ष वामदेव गौतमले चुनाव हारेपछि एमालेभित्र एक प्रकारका भुइचालो नै गएको छ । बर्दिया १ मा चार महिनाअघिको स्थानीय तह निर्वाचमा एमाले–माओवादीले पाएको मत कांग्रेसको भन्दा झन्डै दोब्बर थियो । यस्तोमा के जित सम्भव होला र रु भन्ने कांग्रेस उम्मेदवार सञ्जय गौतमलाई लागेको भए पनि निर्वाचनले त्यो सम्भव गराइदिएको छ ।
देशभर वाम गठबन्धनको लहर चल्दा एमालेका प्रभावशाली उपाध्यक्ष्ँ वामदेवले भने बिर्दया १ बाट नमिठो हार बेहोरेका छन् । पराजयको कारण अन्तर्घात हो वा स्वयं उनको अलोकप्रियता भन्नेमा एमाले पंक्ति विभाजित छ । यतिबेला दुई पक्षबीच आरोप प्रत्यारोपसमेत भइरहेको छ ।
गौतम निकटस्थहरु स्थानीय केही नेताहरुको नाम लिएर अन्तर्घातको आरोप लगाइरहेका छन् भने उनीहरुको निसानामा निवर्तमान सांसद श्याम ढकाल, युवा तथा खेलकुद विभागका सचिव दामोदर अर्याल र असन्तुष्ट भई स्वतन्त्र उम्मेदवारी दिएका खड्कबहादुर खड्का छन् ।
बर्दिया १ को निर्वाचन परिचालन अरु जिल्लाभन्दा फरक ढंगले गरिएको थियो । उपाध्यक्ष गौतमले स्थानीय कमिटी र नेताभन्दा बाहिरबाट आएका शुभचिन्तक समूहलाई धेरै विश्वास गरेका थिए । सो समूहको सक्रियताले पनि माहोल बिग्रेको बर्दिया एमाले अध्यक्ष हरि ज्ञवालीले स्वीकारेका छन् ।
उनीहरुकै नेतृत्वमा निर्वाचन परिचालन हाई कमान्ड बन्यो । विवादास्पद पूर्वमन्त्री हरि पराजुलीको संयोजकत्वमा आर्थिक समिति, अख्तियारले डामेका डीबी कार्कीको संयोजकत्वमा युवा तथा विद्यार्थी परिचालन समिति, बलराम बास्कोटाको संयोजकत्वमा किसान परिचालन समिति बने ।
लक्ष्मण ज्ञवालीले प्रचारप्रसार सम्हाले भने शारदा सुवेदीलाई असन्तुष्ट नेता कार्यकर्ता मिलाउने जिम्मा दिइएको थियो । जबकि हाई कमान्डमा जिल्ला अध्यक्ष ज्ञवालीलाई समेत राखिएन । उनलाई गुलरिया नगरपालिका हेर्ने जिम्मेवारी मात्र दिइयो ।
एमालेमा वामदेव देख्न नचाहने खेमाले पूरै असहयोग गर्यो भन्ने उनीहरुको दाबी छ । माओवादीको तल्लो तहका कार्यकर्ताले समेत असहयोग गर्ने परिस्थिति बनेको थियो । गौतम निकटस्थहरुले तारो बनाएका निवर्तमान सांसद ढकाल घात–अन्तर्घातभन्दा निर्वाचन परिचालन र व्यवस्थापनमा भएका त्रुटि, ओभर कन्फिडेन्ट र निकटस्थहरुको घेराबन्दी मुख्य कारण भएको बताउँदै आएका छन् ।
बर्दिया १ मा रहेका चार तहमध्ये तीन वटा एमाले र माओवादी केन्द्रले जितेका छन् । बढैयाताल र बाँसगढी नगरपालिकामा माओवादी केन्द्र र गुलरिया नगरपालिकामा कांग्रेसले जितेको छ । स्थानीय निर्वाचनमा ती तहहरुमा एमालेले २८ हजार आठ सय ९२, माओवादी केन्द्रले २८ हजार सात सय २२ र कांग्रेसले २७ हजार ९१ मत ल्याएका थिए, तरुणमा उल्लेख छ ।
बर्दिया १ बाट ०४८ पछिका ६ निर्वाचन लडेका गौतमको पक्षमा यसपटक दुई कारणले कुनै लहर देखिएन । पहिलो, बबई सिँचाई आयोजनाबाहेक विकासमा उनले प्रचार गर्न योग्य कुनै अर्को अयोजना बनाएका थिएनन् । राष्ट्रियस्तरका नेताको निर्वाचन क्षेत्रमा एउटै भित्री सडक कालोपत्रे छैनन् । ०५६ र ०६४ को निर्वाचन हारेपछि उनको बर्दिया मोहभंग भएको देखियो ।








