काठमाडौं,प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको साझा प्रस्ताव माथि एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले अवरोध गर्नु भएको छ ।
संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको सोमबारको बैठकमा अध्यक्ष प्रचण्डले कांग्रेस, एमालेसहितका सत्तारुढ दलहरुले सम्वाद
समितिमा पेश गरेको सात प्रदेशको ‘साझा प्रस्ताव’ अगाडि बढाउन दिनु भएन ।
अध्यक्ष प्रचण्डले प्रक्रियागतरुपमा समेत प्रस्ताव गलत भएको भन्दै नियमावली अनुसार उहाँहरुको प्रस्ताव दर्ता गर्न नमिल्ने बताउनु भयो ।
कांग्रेस-एमालेले जनआन्दोलनको म्याण्डेट विपरीत प्रस्ताव ल्याएको भन्दै प्रचण्डले सुशील र केपीलाई जनताले माफ नगर्ने चेतावनी दिनु भयो ।
बैठकपछि एमाओवादी अध्यक्ष प्रचण्डले प्रचण्डले कांग्रेस र एमालेको प्रस्ताव सन्दर्भ सामाग्री हुन सक्ने तर निर्णय प्रक्रियामा लैजान नसक्ने बताउनु भयो ।
कांग्रेस-एमालेको प्रस्ताव प्रक्रियागत रुपमा सही भए नभएको विषयमा नै विवाद भएपछि सम्वाद समितिको बैठक केहीबेर स्थगित भयो ।
प्रचण्ड नेतृत्वको मोर्चाको आइतबार बसेको बैठकले नै कांग्रेस र एमालेको प्रस्ताव सम्वाद समितिमार्फत संविधानसभामा जान नदिने निर्णय गरेको थियो ।
कांग्रेस, एमालेले ल्याएको प्रस्तावमा सरकारमा संलग्न नेकपा मालेको समेत विरोध छ । सरकारलाई समर्थन गरेका नेकपा संयुक्त, राष्ट्रिय जनमोर्चासहितका दलहरुले पनि दुई दलको प्रस्तावको विरोध गरेका छन् ।
प्रतिनिधि सभा प्रत्यक्ष निर्वाचित हुने कांग्रेस र एमालेको प्रस्तावमा साना दलहरुको आपत्ति छ ।







