‘जीवराज आश्रित स्मृति भवन’ हस्तान्तरण

काठमाडौँ, २९ असोज । नेकपा एमाले का तत्कालीन सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको सम्झनामा निर्माण गरिएको भवन शुक्रबार हस्तान्तरण गरिएको छ ।

काठमाडौँ महानगरपालिका–७ स्थित चाबहिलमा निर्माण गरिएको सो भवनको शुक्रबार आयोजित कार्यक्रममा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आश्रितका श्रीमती माया ज्ञवालीलाई हस्तान्तरण गर्दै मुलुकको राजनीतिक विकास क्रममा आश्रितले पुर्याएको योगदान अविस्मरणीय रहेको चर्चा गरे । उनले आश्रितको सम्मान तथा स्मरणमा पार्टीले विभिन्न कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र अष्टलक्ष्मी शाक्यलगायतको सहभागितामा भएको कार्यक्रममा पार्टीका नेता सानुकुमार श्रेष्ठले भवन निर्माणमा सहयोग गर्ने विभिन्न सङ्घसंस्था, स्वदेशी तथा विदेशीलाई धन्यवाद व्यक्त गर्दै विभिन्न राजनीतिक तथा सामाजिक गतिविधि सञ्चालन गर्न सो भवन उपयोगी हुने बताए ।

अखिल नेपाल महिला सङ्घका केन्द्रीय सदस्य तुलसी थापाको संयोजकत्वमा सो भवन बनेको हो । सोही भवनमा निर्मित आश्रितको सालिक समेत आज अनावरण गरिएको थियो ।
विसं २०५० जेठ ३ गते दासढुङ्गामा भएको दुर्घटनामा आश्रितको निधन भएको थियो ।

सम्बन्धित शिर्षकहरु