रमेश अधिकारी/ असनेपाल न्युज
कात्तिक १४, काठमाडौँ- अस्ट्रेलियाले इबोला ग्रस्त अफ्रिकन देशका कुनै पनि नागरिकलाई अस्ट्रेलिया आउनका लागि भिसा नदिने निर्णय गरेको छ । यसका साथै आफ्ना नागरिकलाई पनि इबोला ग्रस्त क्षेत्रमा प्रवेश गर्न अस्ट्रेलियाले रोक लगएको अन्तरास्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । 
संसदमा उठेको एक प्रश्नको जवाफमा अस्ट्रेलियाका आप्रवासन सम्बन्धि मन्त्रि स्कट मरिसनले अफ्रिकन देशबाट अस्ट्रेलिया आउन पूर्ण रुपमा प्रतिबन्ध लगाएको जानकारी गराउनु भएको हो । संसदमा बोल्दै मरिसनले भन्नु भयो- ” इबोला ग्रस्त क्षेत्रबाट कुनै पनि नागरिकलाई अस्ट्रेलिया प्रवेश गर्न दिईने छैन । यसका साथै शरणार्थी सम्बन्धि मानबिय प्राबधानहरुलाई पनि केहि समयका लागि निलम्बन गरेका छौ ।”
यस्तो निर्णय संगै अस्ट्रेलियाली सरकारले ती क्षेत्रमा भएका आफ्ना सबै आबासिय कार्यालयहरु पनि बन्द गरेको छ । अस्ट्रेलियाको यो निर्णयका बिषयमा त्यहाका स्थानीय संचार माध्यममा समाचार समेत आउन नदिएको बताइएको छ ।
अस्ट्रेलिया सरकारको यस्तो निर्णय प्रति संयुक्त रास्ट्रसंघिय एजेन्सीहरु र अफ्रिकन नेताहरुले गम्भीर आपत्ति जनाएका छन् । यो निर्णय अत्यन्तै भेदभावपूर्ण र इबोला विपदको अन्त्य गर्ने अन्तरास्ट्रिय प्रयासको खिलाफमा भएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।
यसैबीच विश्व स्वास्थ्य संगठनले यदि इबोला संक्रमित ७० प्रतिशत मानिसलाई छुट्टै राखेर उपचार नगरिए एक हप्तामा १४ लाख मानिसमा यो भाइरस सर्न सक्ने चेताबनी दिएको छ ।








