म्याग्दी, २ कात्तिक । म्याग्दीमा अरिङ्गालले टोकेर एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।
बेनी नगरपालिका वडा नं. ९ घतान काउलेगौडाका ५५ वर्षीय दल पुरी, उनकी श्रीमती ४५ वर्षीया शिवा पुरी र १२ वर्षीय छोरा आशीष पुरीको उपचारका क्रममा शनिबार साँझ मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
घरनजिकैको जङ्गलमा दिउँसो घाँस काट्न गएका उनीहरुलाई अरिङ्गालले टोकेर सख्त घाइते बनाएको थियो ।
जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि पोखरा पठाइएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शवलाई राति नै बेनी ल्याइएको र आइतबार आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ ।







