गुजरात, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजकीय भ्रमणको पाँचौं दिन आज गुजरात प्रान्तको भुजस्थित भीमासागर क्षेत्रमा भूकम्पपछिको पुनःनिर्माण र नयाँ बस्ती विकास क्षेत्रको अवलोकन गरेका छन् ।
दुई वर्षअघि र सन् २००१ मा सो क्षेत्रमा गएका भूकम्पबाट भएको क्षति र पुनःनिर्माणको जानकारी लिन प्रधानमन्त्री त्यहाँ पुगेका छन्।
प्रधानमन्त्रीका साथ भ्रमण दलका अन्य सदस्य पनि सहभागी थिए। प्रधानमन्त्री ओलीसमक्ष सो प्रदेशका गभर्नर ओपी कोह्लीलगायतले पुनःनिर्माण कार्यक्रमबारे अवगत गराए।
सो क्षेत्रमा विपद् व्यवस्थापन समिति र पुनःनिर्माण प्राधिकरणले गरेका कार्यबाट विगतको भन्दा राम्रो विकास निर्माण भएको पाइएको छ । स्थानीय अधिकारीका अनुसार नयाँ जग्गा वितरण गरी बस्ती निर्माण, उद्योग कलकारखानाको निर्माण, वैदेशिक सहयोग परिचालन, शिक्षालय, स्वास्थ्य केन्द्र, भूकम्पमापन केन्द्र, पुस्तकालय आदिको निर्माण गरिएको छ ।
नेपालमा पनि गत वैशाख १२ मा भूकम्प गएपछि पुनःनिर्माणको क्रम चलिरहेका बेला सरकारका विभिन्न मन्त्री, सांसद्, मुख्य सचिव, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतसहितको टोली सो क्षेत्रमा पुगेको हो । प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवालीले भुजको पुनःनिर्माण तुलनात्मकरुपमा चाँडो भएको पाइएबाट नेपालले पनि पाठ सिक्न सक्ने बताए।
सन् २००१ मा भुजको कुच जिल्लामा ७.९ म्याग्निच्युडको भूकम्पबाट १८ हजार छ सय मानिसको मृत्यु भएको थियो ।
यसअघि, प्रधानमन्त्री ओलीलाई भुज विमानस्थलदेखि स्थानीय रिजेन्ता रिसोर्टसम्म पंक्तिबद्ध राजनीतिक कार्यकर्ता, जनता र विद्यार्थीद्वारा विभिन्न झाँकी, नृत्य, खादा र पुष्पाहारबाट भव्य स्वागत गरिएको थियो ।
गुजरात प्रस्थान गर्नुअघि ओलीलाई भारतीय आयुष राज्यमन्त्री श्रीपद् यश्व नायकले नयाँ दिल्लीको सैनिक विमानस्थलमा विदाई गरेका थिए। । प्रधानमन्त्री ओली मंगलबार साँझ भारतको मुम्बई सहर पुग्ने कार्यक्रम रहेको छ ।








