असोज २८ ।काठमाडौँ, नेपालको लोकसङ्गीत एवम् नेपाली भाषासाहित्यका प्रसिद्द व्यक्तित्व जनकवि केशरी धर्मराज थापाको आज निधन भएको छ ।
मष्तिस्कघातबाट पीडित थापाको बिहान स्वयम्भू भगवानपाउ स्थित आफ्नै निवासमा उहाँ ९२ वर्षको उमेरमा निधन भएको हो ।
लामो समयदेखि बिरामी रहनुभएका थापाको विगत केही समयदेखि घरमै उपचार हुँदै आएको थियो ।
उहाँको जन्म १९८१ साउन १ गते कास्कीको पोखरामा भएको थियो ।
पोखरा उपमहानगरपालिका–१६ बाटुलेचौर स्थायी घर भएका थापाले २०२७ सालमा मदन पुरस्कार प्राप्त गर्नुभएको थियो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका आजीवन सदस्य रहनुभएका प्रसिद्ध लोकगायक थापाका ‘होहो माले हो..’, ‘हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा’, ‘धानको बाला झुले हजुर देसै रमाइलो’, ‘आज मादल बजेको किन गाउँघर दुनियाँ ब्युँझाउन’ जस्ता चर्चित नेपाली लोकभाकाका सयौँ गीत रचना छन् ।
उहाँमा स्वदेश तथा प्रवासमा रहेका नेपालीको पीडालाई सुन्दर ढङ्गले लोकभाकाको गीतसङ्गीतमा ढाली सबै नेपालीले बुझ्न सक्ने गरी प्रस्तुत गर्ने सरल शैली थियो । त्यसैले उहाँका लोकगीतहरु सबै नेपालीका मनमष्तिस्कमा चर्चित छन् ।
उहाँका मङ्गली चरो, वनकुसुमलगायतका साहित्यिक कृति प्रकाशित छन् । थापाको नाउँमा लोकगीत सङ्गीतलाई प्रवद्र्धन गर्न धर्मराज थापा तथा सावित्री थापा प्रतिष्ठान स्थापना गरिएको छ ।
लोकगीतको संकलन, गायन र अन्वेषणमा आफ्नो जीवन व्यथित गर्नुभएका थापाको “गण्डकीका सुशेली” लगायत गीत, कविता, लेख, साहित्य, संस्कृति, यात्रा संस्मरण लगायत २९ वटा कृति प्रकाशित छन । “गण्डकीका सुशेली” पुस्तकमा थापाले नेपाली लोकगीतको बारेमा
गरेको अनुशन्धान र तिनका उपलब्धिहरुलाई बिस्तृतमा ब्याख्या गर्नु भएको छ ।
थापाको निधन प्रति समग्र संगीतप्रेमीलाई स्तब्ध बनाएको पोखराकै अर्का लोक गायक ऋषि अधिकारीले बताउनु भयो ।
थापाले २०२५ सालको साहित्यतर्फको मदन पुरष्कार, २०५७ सालको जगदम्बा श्री पुरष्कार प्राप्त गर्नु भएको छ । थापाका १ सय भन्दा बढी गीत रेकर्ड भएका छन् भने ।
गोरखापत्र संस्थान, नेपाल भाषा प्रकाशिनी समिति र रेडियो नेपालको लोकसंस्कृति विभागको प्रबन्धकमा रही सेवा सुरु गर्नुभएका थापा संस्कृति विभागको महानिर्देशकसम्म हुनुभयो ।
उहाँका श्रीमती, तीन छोरा र दुई छोरी हुनुहुन्छ ।
छोरी ज्ञानु राणा पनि नेपाली लोकगीत क्षेत्रकी एक चर्चित कलाकार हुन् भने छोरा बुलन्द थापा नेपाल सरकारको चिकित्सक सेवामा कार्यरत हुनुहुन्छ ।
उहाँको पार्थिव शरीरलाई आज ११ देखि २ बजेसम्म श्रद्धाञ्जलिका लागि नेपाल प्रज्ञा–प्रतिष्ठानको परिसरमा राखिनेछ । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जानकारी उहाँका छोरा बुलन्द थापाले दिनुभयो ।








