प्रधानमन्त्री कोइराला र एनआरएनका प्रतिनिधि मण्डलबीच भेट

असोज २८ । काठमाण्डौं,प्रधानमन्त्री सुशील कोइराला र गैर आवासीय नेपाली संघका अध्यक्ष शेष घलेको नेतृत्वमा आएको प्रतिनिधि मण्डलबीच आज भेट भएको छ ।

बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा गैरआवासीय नेपाली संघको अवस्था, गैरआवासीय नेपालीहरुले नेपालमा गरेको लगानी, नेपालमा सुधि्रदै गरेका लगानी योग्य वातावरण,नेपालको संविधान निर्माण प्रकृया, खुला विश्वविद्यालय स्थापना सम्बन्धी विधेयक आदिको विषयमा कुराकानी भएको थियो ।

संघका प्रतिनिधिहरुसंगको भेटमा प्रधानमन्त्री कोइरालाले संविधानसभाको निर्वाचन भएर आफ्नो नेतृत्वमा सरकार गठन भएपछि यसले शान्ति,स्थायित्व, लोकतन्त्र,लोकतान्त्रिक संविधान र विकासलाई मूलमन्त्र बनाएर काम गरिरहेको बताउनु भयो ।

उहाले मुलुकमा शान्ति र राजनीतिक स्थायित्व कायम भएको र निर्धारित समयमा संविधान आउने सुनिश्चित भएकोले लगानीको वातावरण बनिरहेको बताउनु भयो । प्रधानमन्त्री कोइरालाले एनआरएनका अध्यक्ष घले स्वयंले ८ अर्ब रुपैयाको लागतमा ५ तारे होटल निर्माण कार्यको थालनी गरेर विदेशी लगानी भित्र्याउने कार्यको अग्रसरता लिएकोमा बधाइ दिनुभएको छ ।

भेट्न आएका प्रतिनिधिहरुमार्फत समस्त एनआरएन सदस्यहरुलाई नेपालमा लगानी गर्न आहृवान पनि गरेका छन् ।

प्रधानमन्त्री कोइरालाले जनतालाई विकासको प्रतिफल चाहिएको बताउदै हालै भारतसंग सम्पन्न विद्युत व्यापार संझौता र भारतको जिएमआर कम्पनीसंग नेपाल लगानी बोर्डले गरेको परियोजना विकास संझौताले नेपालमा जलविद्युतमा लगानी गर्ने बाटो प्रशस्त गरेको पनि बताउनु भएको छ ।
प्रधानमन्त्री कोइरालाले संविधान निर्माणमा राजनीतिक दलहरु धेरै विषयमा सहमतिमा पुगेको र विगतमा विवादास्पद देखिएका कतिपय विषयमा पनि सहमति बन्दै गएकोले संविधान आउने कुरामा विश्वस्त हुन पनि आग्रह गरेका छन ।

गैर आवासीय नेपालीहरुसंग संविधान, संघीयता, लगानी, जनशक्ति विकास र आर्थिक सामाजिक विकासको एजेण्डाहरु लिएरले अन्य दलका नेताहरुसंग भेटघाट गरी मुलुकलाई समुन्नत बनाउने सुझाव दिन आग्रह गरेका छन् ।

सम्बन्धित शिर्षकहरु