कृषि सेवा केन्द्रलाई पचास लाख पर्ने जग्गादान

भदौ ३१ ।बझाङ,भैरवनाथ-२ झोता निवासी ७७ वर्षीय कृष्णबहादुर सिंहले कृषि सेवा केन्द्र झोतालाई रु ५० लाख मूल्य बराबरको एक रोपनी जग्गादान गर्नु भएको छ ।

सिंहले आफ्नो नाममा रहेको जग्गा कृषि सेवा केन्द्रलाई दान गर्नु भएको हो ।

विगत १५ वर्षदेखि कृषि सेवा केन्द्र झोताले घर भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको थियो ।

सोमबार कृषि सेवा केन्द्रलाई जग्गादान गरेपछि जिल्ला कृषि विकास कार्यालय बझाङले एक सम्मान कार्यक्रम गरी सिंहलाई दोसल्ला ओढाई सम्मान गरेको थियो ।

सम्मान कार्यक्रममा वरिष्ठ कृषि विकास अधिकृत तिवारीले जग्गादानले यस क्षेत्रका समग्र कृषकको हित र विकास हुनुका साथै विकट गाविसका कृषकलाई समेत टेवा पुगेको बताउनुभयो ।

लामो समयदेखि कार्यालयको भाडा तिरेर सञ्चालन हुँदै आएको कृषि सेवा केन्द्र झोता अबदेखि आफ्नै स्वामित्वमा रही कार्यालय सञ्चालन हुने उहाँको भनाइ छ ।

कृषि सेवा केन्द्र झोताले भैरवनाथ गाविसलगायत ११ वटा गाविसका कृषकलाई सेवा दिँदै आएको छ । यस सेवा केन्द्रमा एक कृषि अधिकृतसहित चार कृषि प्राविधिक र दुई कार्यालय सहयोगी गरी सात कर्मचारीको दरबन्दी रहेको छ ।

जीवनभर कृषि पेसामा संलग्न भएको र कृषिलाई सेवा गर्ने चाहना भएकाले एक रोपनी जग्गादान गरेको सिंहले जानकारी दिनुभयो ।

जिल्लाका कृषकलाई सेवा दिन जिल्ला कृषि विकास कार्यालय बझाङले बाँज गाविसको सैन्यू, भैरवनाथ गाविसको झोता, मालुमेला गाविसको मालुमेला र मेबिसौना गाविसको तल्कोट गरी चारवटा कृषि सेवा केन्द्र स्थापना गरेको छ ।

 

सम्बन्धित शिर्षकहरु