भदौ २५।विराटनगर,अर्थ मन्त्री डा.रामशरण महतले उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको बिषय संविधानसभासँग सम्बन्धित नरहेकाले एकीकृत नेकपा माओवादी लगायतका दलले संसद् अवरुद्ध गर्नु गलत भएको बताउनु भएको छ ।
विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले दलहरुले संसद् अवरुद्ध गर्ने कार्य गलत र गैरजिम्मेवारी पूर्ण भएको भन्दै उनिहरुलाई त्यो विरोध छोडेर संविधान निर्माणमा लाग्न आग्रह गर्नु भयो ।
उहाँले जनताले दिएको जनादेश संविधानसभा भएकाले गैरसंवैधानिक संयन्त्रको कुनै आवश्यक नरहेको धारणा व्यक्त गर्दै संयन्त्रले दिएको सुझाव ग्रहण गर्ने नगर्ने सम्पूर्ण अधिकार सभामा मात्र रहेको प्रष्ट पार्नुभयो ।
अर्थमन्त्री डा महतले सङ्घीयतालाई थाँती राखेर संविधान जारी गर्न सकिने आफूले कहिले नभनेको प्रष्ट पार्दै सङ्घीयता संविधानको अभिन्न अङ्ग भएकाले यसलाई थाँती राखेर संविधान जारी गर्न नसकिने बताउनुभयो ।
मन्त्री डा महतले प्रदेशको सीमाङ्कनलगायतका प्राविधिक विषयमा दलहरुको सहमतिमा पछि निर्णय गर्न सकिने मात्र आफूले भनेको बताउनुभयो ।
मन्त्री डा महतले नेपाली काँग्रेसले कहिले पनि सङ्घीयतालाई नछाडेकोे भन्दै सङ्घीयतासहितको संविधान जारी हुनेमा ढुक्क रहन सबैलाई आग्रह गर्नुभयो ।
एक प्रश्नको जवाफमा उहाँले विवादित विषयमा दलहरुबीच सहमति नभए प्रक्रियामा गएर भए पनि आगामी माघ ८ गते कुनै पनि हालतमा लोकतान्त्रिक संविधान जारी हुने दाबी गर्नुभयो ।








