भादौ १७ । काठमाडौँ,तत्कालिन नेकपा माओवादी द्वन्दकालमा बेपत्ता भएका तीन हजार ७७७ जनामध्ये एक हजार ३४७ को अवस्था अझै अज्ञात नै रहेको छ ।
अन्तर्राष्ट्रिय बेपत्ता दिवसका अवसरमा रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) र नेपाल रेडक्रस सोसाइटीद्वारा संयुक्तरुपमा सोमबार काठमाण्डौमा आयोजित कार्यक्रममा एक दशकको द्वन्द्व अवधिमा “नेपालका बेपत्ता भएका व्यक्तिहरूः अद्यावधिक सूची २०७१” नामक प्रतिवेदनमा उक्त्त तथ्याङक सार्वजनिक गरिएको हो ।
ती दुई सस्थाले २०६४ सालदेखि प्रतिवेदन प्रकाशित गर्दै आइरहेका छन् । यो सातौ संस्करणको प्रतिवेदन हो ।
बेपत्ता व्यक्तिका परिवारजनको मनोवैज्ञानिक, आर्थिक, कानुनी, प्रशासनिक र सामाजिक सहायता प्रदान गर्न पनि ती दुवै संस्थाहरूले समन्वयकारी कार्य गर्ने गर्दछन् ।
कार्यक्रममा शान्ति तथा पुनःनिर्माणमन्त्री नरहरि आचार्यले द्वन्द्वका समयमा बेपत्ता भएकाको खोजविन गर्न मन्त्रालयले उच्च प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिनुभयो । ऐतिहासिक जनआन्दोलन २०६२÷०६३ का क्रममा आफूलाई पनि केही दिन बेपत्ता पारिएको उहाँले स्मरण गर्नुभयो ।
मन्त्री आचार्यले द्वन्द्व पीडित जनतालाई राहत तथा पुनःस्थापनाका लागि मन्त्रालय लागिरहेको चर्चा गर्दै स्थानीय शान्ति समितिमार्फत द्वन्द्वका बाँकी रहेका सामाजिक तथा मनोवैज्ञानिक घाउ अन्त्य गर्ने कामसमेत भइरहेको बताउनुभयो ।
द्वन्द्वको कारण हराइरहेकाको स्मरणमा सन् १९८३ देखि बेपत्ता दिवस मनाउन सुरु गरिएको थियो ।
कार्यक्रममा आइसिआरसीका नेपाल प्रतिनिधि ड्रागना कोएचले बेपत्ता व्यक्तिको परिवारलाई सार्वजनिक मान्यता प्रदान गर्नु र सम्बन्धित पक्षहरूलाई उनीहरूको पीडा र आवश्यकता पुन स्मरण गराउन प्रतिवेदन सार्वजनिक गरिएको हो भन्नुभयो ।
नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले बेपत्ता व्यक्तिको विषयलाई लिएर सम्बन्धित निकायसम्म पुर्याउन सेतुका रुपमा रेडक्रसले काम गरिरहेको छ भन्नुभयो ।








