दार्चुलाको सीमा नाकामा भारतीयको आन्दोलन

भदौ १० । दार्चुला,सशस्त्र प्रहरी बलले भारतीय महिलालाई पक्राउ गरेको विरोधमा भारतीय पक्षले दार्चुला सदरमुकामको प्रमुख नाका झोलुङ्गे पुलमा तालाबन्दी गरेको छ ।

एक भारतीय महिलालाई भारु एक लाख पाँच हजारसहित सशस्त्र प्रहरी बलले पक्राउ गरी काठमाडौं पठाएपछि भारतीय पक्षले यस सीमा नाकामा आन्दोलन चर्काएको छ । भारतीय पक्षले यसै विषयलाई लिएर सीमावर्ती बजार धारचुला बन्द गराएका छन् ।

शुक्रबार सशस्त्र प्रहरीले सीमामा जाँचका क्रममा भारतको मुनस्यारी क्षेत्रको बौना गाउँकी ४० बर्षीय महिलालाई भारु एक लाख पाँच हजारसहित पक्राउ गरी अनुसन्धानका लागि आन्तरिक राजस्व अनुसन्धान विभाग काठमाडौँ पठाएपछि भारतीय पक्षले सीमामा सशस्त्र प्रहरीले ज्यादति गरेको भन्दै आन्दोलन गरिरहेको छ ।
महिला पक्राउको विरोधमा व्यापार मण्डल धारचुलाले आज बिहान ८ बजेदेखि सो पुलमा तालाबन्दी गरी नाराबाजी गरिरहेको छ ।
पतिको उपचारका लागि धारचुला अस्पताल आएको बेला नेपाल घुम्न आउँदा निज महिलालाई पक्राउ गरेर नेपालले सीमामा तनाव उत्पन्न गराएको धारचुला व्यापार मण्डलका अध्यक्ष भुपेन्द्र थापाले बताउनु भयो ।

सीमामा रु ५ सय र हजारको नोट अवैध मानिने भएकाले सशस्त्र प्रहरीले शुक्रबार उनको साथबाट उक्त परिमाणको भारतीय रुपैयाँसहित बरामद गरी अनुसन्धानका लागि काठमाडौँ पठाएको सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म दार्चुलाका प्रहरी नायब उपरीक्षक वीरसिंह साहुले बताउनु भयो ।

सीमा नाका बन्दमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) र भारतीय कस्टमको समेत समर्थन रहेको थापाले बताउनु भयो ।

सीमामा भारतीय रुपैयाँ बरामद गरी महिलामाथि मुद्दा चलाएको विरोधमा भारतीय व्यापारीहरुको आन्दोलनमा आफूहरुको समेत समर्थन रहेको उद्योग वाणिज्य सङ्घ दार्चुलाका अध्यक्ष मङ्गलसिंह ठगुन्नाले बताउनु भयो ।

सम्बन्धित शिर्षकहरु