सप्तरीमा बाबुराम पक्षको ५१ सदस्यीय समानान्तर जिल्ला कमिटी गठन

भदौ ९ ।राजविराज,एमाओवादीमा बाबुराम भट्टराई विचार समूहका नेता कार्यकर्ताले सप्तरीमा समानान्तर जिल्ला कमिटी गठन गरेको छ ।

सदरमुकाम राजविराज-९ मा गएराति सम्पन्न भेलाले सरस्वती चौधरीको अध्यक्षतामा ५१ सदस्यीय समानान्तर जिल्ला कमिटी गठन गरेको हो ।

चौधरीको अध्यक्षतामा नवगठित कमिटीमा चन्देश्वर मण्डल किसान, पार्वती चौधरी, उमेश कुमार मण्डल, घुर्मि सिंह दनुवार, विशेश्वर चौधरी, प्रमोद मण्डल, दीपकुमार चौधरीलगायत रहेको भेलामा सहभागी दयाराम चौधरीले जानकारी दिनुभयो ।

नवगठिन कमिटीका अध्यक्ष चौधरी सप्तरी क्षेत्र नम्बर ५ मा एमाओवादीका तर्फबाट गत निर्वाचनका उम्मेदवार पनि हुन् ।

भट्टराईले अघि सारेको नयाँ शक्तिको अवधारणालाई गाउँ तहसम्म पु¥याउनका लागि भन्दै समानान्तर जिल्ला कमिटी गठन गरिएको हो ।

अध्यक्ष चौधरीले विराटनगर सम्मेलनमा उठेका वैचारिक कुरा छलफलमा लैजाने बताउनुभयो ।

भट्टराई पक्षीय नेताले काठमाडौँ, धनुषा, कास्की, चितवन, गोर्खा, दाङलगायत जिल्लामा समेत समानान्तर जिल्ला कमिटी गठन गरेका छन् । एमाओवादीको गत साउन १९ गते बसेको स्थायी समितिको बैठकले समानान्तर कमिटी बनाउन भूमिका खेलेको आरोपमा भट्टराई निकट नेताद्वय गङ्गा श्रेष्ठलाई तीन महिना र रामरिझन यादवलाई एक महिनाका लागि केन्द्रीय सदस्यबाट निलम्बन गरेको थियो ।

त्यस्तै, भट्टराई निकट सचिव टोपबहादुर रायमाझी र देवेन्द्र पौडेललाई लगातार तीनपटक बैठकमा सहभागी नभएको भन्दै स्थायी समितिबाट हटाएको थियो ।

सम्बन्धित शिर्षकहरु