साउन २८, काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले मिलिजुली सरकारको भावना अनुरुप कांग्रेसले सत्ता संचालन गर्न नसके कांग्रेससंगको सहकार्य तथा सत्ता समिकरण टुट्नसक्ने चेतावनी दिनुभएको छ । काठमाडौँमा जारी एमाले केन्द्रीय समितिको बैठकमा ओलीले यस्तो चेतावनी दिनुभएको हो ।
बैठकलाई सम्बोधन गर्दै उहाले संयुक्त सरकार संचालनका लागि निर्धारण गरिएका सर्त र मापदण्ड सरकारमा सहभागी दुवै पक्षले पालना गर्नुपर्ने भन्दै कांग्रेस एकलौटी ढंगले अघि बढ्न खोजे कांग्रेससँगको सत्ता गठबन्धन टिक्न नसक्ने स्पष्ट पर्नुभयो । गठबन्धनको विधि र मान्यता अनुशरण गर्न पनि ओलीले कांग्रेस नेतृत्वलाई सुझाव दिनुभएको थियो । ओलीले अहिले एमालेको प्राथमिकता सरकारभन्दा पनि संविधान भएकोले सार्वजनिक भइसकेको प्रतिवद्धताअनुसार आगामी माघ ८ गतेभित्र संविधान जारी गर्न गम्भीरताका साथ लाग्नुपर्ने बताउनुभयो ।
बैठकमा सरकारको भूमिका, संविधान निमार्ण, महाधिवेशन समीक्षा, महाधिवेशनमा प्रस्तुत दस्तावेज प्रकाशनलगायतका विषयमा पनि छलफल हुँदैछ। केन्द्रीय समितिको बैठक र अजेन्डाका बारेमा मंगलबार बिहान अध्यक्ष केपी ओली र माधव नेपालबीच छलफल भएको थियो। ओली छलफलका लागि नेपाल निवास कोटेश्वर पुगेका थिए। भेटवार्तामा सरकार भूमिका, संविधान निर्माण बारे पनि छलफल भएको बताइएको छ।








