साउन २३, काठमाडौँ- नेपाली सेनाले विष्फोट गराएपछि पहिरोको कारण थुनिएको सुनकोशीको पानीको बहाफ बढेको छ। सेनाले शुक्रबार बिहान सुनकोशी थुनिएको बाँधमा दुईपटक विष्फोट गराएको थियो।
सेनाको टोलीले बिहान पौनै नौ बजे र सबा दस बजे दुईवटा विष्फोट गराएको थियो। भोटेकोशीतर्फबाट सुनकोशी थुनिएको तालमा प्रवेश गरेको पानीको बहाफ तीन सय क्यूसेक छ भने सुनकोसीबाट बगेको पानीको बहाफ तीन सय ५० क्यूसेक रहेको छ। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले सुनकोशीबाट बगेको पानीको बहाफ बढ्दै गएको र निकासलाई सहज बनाउन निरन्तर प्रयास चलिरहेको बताउनु भयो।
एक साता अघि माङ्खामा गएको पहिरोका कारण थुनिएको सुनकोशीमा ताल बनेको छ। यो फुटेमा बाढी आएर ठूलो बिनाश ल्याउने खतरा छ। सिन्धुपाल्चोकको माङ्खामा गएको पहिरोमा पुरिएर मर्नेहरुको संख्या एक सय ५६ पुगेको छ जिल्ला दैवीप्रकोप उद्धार समितिले शव भेटिएका तेत्तीस र हराएका एक सय २३ जनालाई मृत घोषणा गरिसकेको छ। बेपत्तालाई मृतक मानेर परिवारलाई राहत वितरण गर्ने काम भइरहेको छ। हराएका व्यक्ति जिउँदै भेटिने संभावना लगभग शून्य रहेको र तत्काल शव पनि पत्ता लगाउने काम संभव नभएपछि स्थानीय प्रशासनले प्रभावित परिवारसँंगको सहमतिमा मृतकको संख्या घोषणा गरेको थियो।
चार दिनसम्म पनि शव फेला नपरेपछि कतिपयले कुशलाई शव मानेर दाहसंस्कार तथा अन्तिम संस्कार गर्ने काम भइरहेको छ। माङ्खामा पहिरो गएर सुनकोशी थुनिएपछि झण्डै पाँच हजार मानिस विस्थापित भएका छन्। यसबाट एघार जिल्लाका बासिन्दा प्रभावित भएका छन् । थुनिएको सुनकोशी खोल्ने काम बुधबार पनि जारी छ। विस्थापित भएका मानिस अझै घर फर्केका छैनन् ।








