साउन १५, काठमाडौँ – देशमा पर्याप्त रोजगारीको अवसर नहुदा वैदेशिक रोजगारीमा विभिन्न मुलुकमा जाने नेपालीको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको छ । आर्थिक वर्ष २०५०/५१मा तीन हजार ६०५ जनामात्रै वैदेशिक रोजगारीमा गएकामा पछिल्लो आव २०७०/०७१ सम्म आइपुग्दा त्यो सङ्ख्या पाँच लाख २७ हजार ८१४ जना पुगेको छ । गएको आव २०७० साउन १ देखि २०७१ असार मसान्तसम्म बिदेसिनेमध्ये चार लाख ९८ हजार ४४६ जना पुरुष र २९ हजार ३६८ जना महिला रहेका छन् ।
आव २०६९/७० मा चार लाख ५३ हजार ५४३ जना वैदेशिक रोजगारीमा गएकामा गएको आवमा ७४ हजार २७१ जनाभन्दा बढी वैदेशिक रोजगारीमा गएका हुन् । गएको आर्थिक वर्षमा सबैभन्दा बढी असार महिनामा ६१ हजार ७१७ जना वैदेशिक रोजगारीमा गएका छन् भने सबैभन्दा कम भदौ महिनामा २४ हजार १६४ जना वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगारीमा जानेको तथ्याङ्कअनुसार औसतमा प्रतिमहिना ४३ हजार ९८४ रहेको छ भने प्रत्येक दिन एक हजार ४४६ नेपाली बिदेसिने गरेका छन् । गत आवमा साउनमा ४५ हजार ९३७ जना र भदौमा २४ हजार २१४ जना, असोज महिनामा ३१ हजार ९५९ जना, कात्तिकमा ३१ हजार ९४९ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । त्यसैगरी मङ्सिरमा ४१ हजार ६३४ जना, पुसमा ५० हजार ३२ जना, माघमा ३७ हजार २८५ जना, फागुनमा ४८ हजार ५५२ जना, र चैतमा ४५ हजार ८५४ जना, वैशाखमा ५४ हजार १७३, जेठमा ५४ हजार ९२६ र असारमा ६१ हजार ७१७ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।








