सेयर बजारमा ‘सर्किट ब्रेक’, कारोबार रकममा पनि ‘नयाँ रेकर्ड’

काठमाडौं । साताको पहिलो दिन आज (आइतबार) पुँजी बजार मापक नेप्से ६९.५६ अङ्‌कले बढेको छ। नेप्से बढेर १५०४.१४ अङ्‌कमा पुगेको छ।

नेप्सेसँगै कारोबार रकमले पनि नयाँ रेकर्ड बनाएको छ। यसअघि गत बिहीबार २ अर्ब ७८ करोड ५० लाख रुपैयाँको सेयर कारोबार भएर इतिहास रचेको थियो। त्यसलाई पछि पार्दै आज त्यो भन्दा पनि बढी रकमको कारोबार भएर पुनः नयाँ रेकर्ड बनाएको हो।

आज ३ अर्ब ६० करोड ८५ लाख २६ हजार रुपैयाँको सेयर कारोबार भएको छ।

अर्थमन्त्री युवराज खतिवडाको राष्ट्रियसभा सदस्यको कार्यकाल आगामी साता सकिँदैछ। उनको कार्यकाल सकिनेबित्तिकै त्यो ठाउँमा बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने समाचार सार्वजनिक भएपछि बजार ६९.५६ अङ्‌कले बढेको लगानीकर्ताहरु बताउँछन्।

उनीहरुले खतिवडालाई सेयर बजार विरोधीका रूपमा हेरिरहेको छन्। खतिवडा राष्ट्रियसभा सदस्य नरहनेबित्तिकै अर्थमन्त्रीबाट पनि हट्छन् भन्ने बुझाइका आधारमा बजार बढेको स्टक ब्रोकरको भनाइ छ।

आज १४३४.५७ अङ्‌कबाट खुलेको बजार १५०४.१४ अङ्‌कमा उक्लिएर बन्द भएको छ। सबै उपसूचकहरु हरियो भएका छन्।

सम्बन्धित शिर्षकहरु