पहिरोमा परी ६ जनाको मृत्‍यु

साउन १२ ।दार्चुला,दार्चुलाको सीमा क्षेत्र रहेको भारतको धारचुलास्थित बयालिसधारमा आएको सुख्खा पहिरोबाट ६ जनाको मृत्‍यु भएको छ । पहिरोमा परेका पाँच जनाको शव निकालिएको छ ।

हिजो दिउँसो २ बजेतिर माथिपट्टि बाटो अवरुद्ध भएको अवस्थामा एकाएक आएको पहिरोमा पहिरोमा नेपाली पनि परेका छन् । १०-१२ जनाको समूहमा रहेको टोली तलतिर हिडिरहेको अवस्थामा पहिरो आएको जानकारी पाइएको दार्चुलाका प्रहरी प्रमुख टीकाबहादुर केसीले जानकारी दिनुभयो । पहिरोमा पुरिएकामध्ये तीन जना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा नेपालको डडेलधुरा बेलापुरका राजेन्द्रसिंह खड्काको नाम खुलेको छ । उहाँ भारतीय होटलमा कामदारका रुपमा कार्यरत रहेको पाइएको छ । यस्तै, भरियाका रुपमा रहेका बैतडीका शोभानसिंह बोहरा वेपत्ता रहेका छन् । घटनामा परी घाइतेको धारचुलास्थित सामुदायिक स्वास्थ्य चिकित्सालयमा उपचार भइरहेको छ । घटनाबारे विस्तृत विवरण भने आइसकेको छैन र मृतकको सनाखत पनि भइसकेको छैन । भारतको सीमा सडक संगठनले सडक निर्माण गरिरहेको यो क्षेत्रमा सुख्खा पहिरो गइरहेको थियो । घटनास्थल भारतको धारचुला बजारदेखि २५ किलोमिटरको दूरीमा पर्छ । पहिरोमा पुरिएकाहरुको पूरैसंख्या र अवस्था अझै खुल्न सकेको छैन । घट्ना लगत्तै भारतीय हेलिक्पटरले उद्धार गर्न शुरु गरेपनि पहिरो पन्छ्याउन नसकिएको भारतीय प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत विवरण आइनसकेको र भारतीय पक्षसंग यसबारे सम्पर्क भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु