अर्जेन्टिनाको जर्सी र जुत्ता किन्न १७ बर्षे किशोरले गरे बच्चा अपहरण

साउन २, काठमाडौँ- अर्जेन्टिनाको जर्सी, जुत्तामोजा र मोबाइल किन्न चितवनमा एक किशोरले तीन बालकलाई अपहरण गरि अभिभावकबाट पैसा असुलेका छन्।

चितवनको भरतपुर–७ बस्ने टेकबहादुर सुयलले भरतपुरकै १२, १३ र १४ वर्षका बालकहरूलाई बन्धक बनाइ ५० हजार असुलेको चितवन प्रहरीले खुलाशा गरेको छ। चितवन प्रहरीका प्रवक्ता डिएसपी शान्तराज कोइरलाले घटना असार ३२ गतेको भएको जानकारी गराएका छन् । १७ वर्षका अर्जुन भनिने सुयलले फुटबल सिकाउने भन्दै ती बालकलाई नारायणगढ क्याम्पाचौर लगी नारायणी कलामन्दिरमा बन्धक बनाइ उनीहरूका अभिभावकलाई फोन गरेर फिरौती मागे।

१० लाख रुपैयाँबाट बर्गेनिग शुरु गरे पनि कुरा गर्दै जाँदा ५० हजार रुपैयाँमा सहमति भयो। अभिभावकले नारायाण्गढ सहिदचोकमा पैसा बुझाएपछि बालकहरू बन्धक मुक्त भए। घटनाबारे प्रहरीले भोलिपल्ट मात्रै थाहा पायो र सुयल पक्राउ परे। उनको साथबाट २७ हजार २० रुपैयाँ मात्रै बरामद भएको छ। अरु पैसा अर्जेन्टिनाको जर्सी, एक जोर जुत्तामोजा र एउटा मोबाइल किन्न खर्च गरेको पत्ता लागेको छ। प्रहरीले उनलाई मलुकी ऐनको अपहरण तथा शरीर बन्धकसम्बन्धी अपराधमा मुद्दा चलाउन अनुसन्धान सुरु गरेको छ। यो अपराध प्रमाणित भएमा सातदेखि १५ वर्षसम्म कैद सजाय हुनेछ।

सम्बन्धित शिर्षकहरु