काठमाडौँ,मकाउमा पठाउने लालच देखाएर सर्वसाधारणसँग ठूलो परिमाणमा रकम असुल्ने तथा भिसा नदिने गिरोहको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पहिचान गरेको छ ।
धेरै पैसा कमाउने गरी रोजगारीमा पठाइदिने आश्वासन पाएर पैसा डुबाएका पीडितमध्ये केहीले सो गिरोहविरुद्धमा उजुरी हालेको र उक्त निवेदनमा एक करोड ४० लाख भन्दाबढी ठगी भएको उल्लेख गरिएको छ ।
मंगलबार आयोजित समीक्षा कार्यक्रममा उक्त गिरोहले पछिल्लोपटक २३ जना सर्वसाधारणलाई मासिकरुपमा दुई लाख तलब पाउने गरी वैदेशिक रोजगारीका लागि मकाउ पठाइदिने आश्वासन दिएर जनही रु आठ लाखका दरले रकम असुलेको प्रहरीले जनाएको छ ।
रकम लिएकामध्ये केही व्यक्तिलाई थाइल्याडको बैंककसम्म पुर्याएर अलपत्र रुपमा छोडेर भाग्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको ब्युरोद्वारा जानकारी दिइयो ।
त्यस कार्यमा एक महिलासहित पाँचजना सङ्गठितरुपमै संलग्न रहेकामा केहीलाई पक्राउ गरिसकिएको प्रहरीले जनाएको छ ।
उनीहरूले योजनावद्ध ढङ्गले तहगतरुपमा रकम असुल्ने, विदेश पठाउन टिकट काट्ने, भिसा लिइदिने, बैंककसम्म पुर्याउने कार्यको जिम्मेवारी लिँदै आएका थिए ।
ब्युरोका प्रमुख उत्तमकुमार कार्कीका अनुसार उक्त गिरोहमा रहेर काम गर्दै आएकामध्ये धेरैको पहिचान भइसकेको छ भने रामकुमार थापामगर, राजन अवस्थी, मिलन राई र अनु चापागाईं पक्राउ परिसकेका छन् ।








