असनेपाल न्युज संबाददाता
असार २८, काठमाडौँ – आज आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पुर्णिमा । आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गर्दै देशभर आज गुरु पूर्णिमा मनाइँदै छ ।
महाभारतका रचयिता ऋषि वेद व्यासको जन्मजयन्तीलाइ वैदिक कालदेखि नै गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । वेदव्यासले चार बेद, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दु संस्कृतिलाई ठूलो गुन लगाएको मानिन्छ । संस्कृतमा भनिएको छः“गुरु व्रह्मा गुरु विष्णु गुरुदेवो महेश्वर । गुरु साक्षत् परम् व्रह्मा तस्मै श्री गुरुवे नमः।” श्लोकले गुरुको महत्वलाई स्पष्ट गर्दै गुरु भनेको व्रह्मा, विष्णुका साथै परम् व्रह्मा पनि हो भन्ने कुरालाई स्पष्ट गरेको छ ।
आजको दिन आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको र गुरुलाई आमा वुवा सरह मान्ने प्रचलन समेत रहेको छ ।








