असनेपाल न्युज सम्बाददाता
असार २६, काठमाडौँ – पहिचान सहितको संघियताका लागि दवाव सृजना गर्न भन्दै एनेकपा माओवादीले ६ वटा मधेसवादी दलससंग मिलेर संयुक्त मोर्चा घोषणा गरेको छ ।
आज काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी एमाओवादीसहितका सात दलले संघीय गणतान्त्रिक मोर्चा घोषणा गरेका हुन् । मोर्चामा एमाओवादी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, मधेसी जनअधिकार फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सदभावना पार्टी, संघीय समाजवादी पार्टी र तराई मधेस सदभावना पार्टी सामेल छन् ।
आजै मोर्चाले आफ्नो १६ बुँदे अवधारणापत्र सार्वजनिक गर्दै विगतमा भएका १२ बुँदे सहमति, फोरम नेपालसँग भएको २२ बुँदे सहमति, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग भएको ८ बुँदे सहमति र जनजाति संयुक्त संघर्ष समितिसँग भएको ९ बुँदे सहमति कार्यान्वयन गर्न दवाब दिने बताएको छ । त्यसै गरी मोर्चाले पहिलो संविधानसभामा गठन भएको राज्य पुनर्संरचना र राज्यशक्तिको बाँडफाँड समिति तथा उच्चस्तरीय राज्यपुनर्संरचना आयोगले तयार पारेको प्रतिवेदनका आधारमा राज्यको पुनर्संरचना गर्नुपर्ने मागलाई प्रमुखताका साथ उठाउने जनाएको छ ।
घोषणासभामा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पहिचानको मुद्दालाई गम्भीरतापूर्वक लिन कांग्रेस र एमालेलाई आग्रह गर्दै त्यसलाई उपेक्षा गरे अर्को द्वन्द निम्तिने चेतावनी दिए ।








