काठमाडौं । उपत्यकामा कोरोनाका साथै हैजाका बिरामी पनि बढ्दै गएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, सोमबारसम्म ४२ जनामा हैजा पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप तीन जनामा हैजा देखिएको बताइएको छ ।
पछिल्लो समय ताहाचल, त्रिपुरेश्वर, टेकु र ढल्कुमा हैजा देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । टेकुका दुई जनामा तथा ताहाचल, त्रिपुरेश्वर र ढल्कुका एक–एक जनामा हैजा देखिएको हो ।
पहिलोपटक असार २ गते बागबजारका दुई जनामा हैजा देखिएको थियो । त्यसयता डिल्लीबजार, सानेपा, कपन, बोहराटार, गोकर्णेश्वर, मनहरा, ढल्कु, टेकु, त्रिपुरेश्वर र ताहाचलमा हैजा देखिएको हो ।
अहिलेसम्म हैजा देखिएकामध्ये तीन जना पाँच वर्षभन्दा मुनिका बालबालिका छन् । त्यस्तै, ६५ वर्षभन्दा माथिका एक ज्येष्ठ नागरिकमा पनि हैजा देखिएको छ ।








