चैत १३ ।कास्की,पूर्व प्रधानमन्त्री तथा एकीकृत नेकपा माओवादीका नेता डा बाबुराम भट्टराईले ३० दलीय मोर्चाको उद्देश्य भनेको सहमतिमा संविधान बनाउनु रहेको स्पष्ट पार्नु भएको छ ।उहाले अरु दलले आरोप लगाए जस्तो आन्दोलनको मनसाय सशस्त्र विद्रोह गर्ने र राज्यसत्ता पल्टाउने नभएको बताउनु भयो ।एमाओवादी कास्कीले आज पोखरामा आयोजना गरेको ‘सहमतीय संविधान निर्माणमा जनआन्दोलनको भूमिका’ विषयको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उहाँले अहिले विद्रोह आवश्यक नभएको र आफुहरुको आन्दोलनको उद्देश्य सहमतिमा संविधान बनाउनु रहेको जिकिर गर्नु भयो । उहाँले सत्तापक्षले १२ बुँदे सहमति, जनआन्दोलन र पटक–पटक भएका सहमति विपरीत बहुमतको दम्भ देखाएकाले आन्दोलन थालिएको जानकारी दिन्नु भयो ।
उहाँले परिवर्तनकामी शक्तिहरुबीच सम्झौताको कुनै विकल्प नभएकामा जोड दिँदै १२ बुँदे जस्तै एक सम्झौता गरी गतिरोध अन्त्य गर्न सत्तापक्षसँग आग्रह पनि गर्नुभयो ।उहाँले गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता र समावेशीका विषयमा सहमति भए बाँकी विषयहरु संविधानसभामा मतदानमार्फत नै टुङ्ग्याउन आफूहरु तयार रहेको बताउनुभयो ।
प्रक्रियाको कुरा गर्दा अन्तर्वस्तुमा सत्तापक्ष लचिलो हुनुपर्ने उहाँले दोहोर्याउनुभयो । उहाँले आफूहरुले उठाएका माग पूरा नभए फेरि पनि जनस्तरबाट विद्रोह हुनसक्ने सम्भावना व्यक्त गर्नुभयो ।
उहाँले न्याय प्रणालीमा सहमति कायम भएको, सङ्घीयताको मुद्दामा आफूहरु पहिचानमा अडिग रहेको तर पहिचानसहितको संयुक्त प्रदेशमा आफ्नो सहमति रहेको बताउनुभयो ।
शासकीय स्वरुपलाई मतदानमार्फत टुङ्ग्याउने र त्यसमा एमाओवादी असहमत भए असहमति राख्ने तयारी गरेको बताउँदै उहाँले निर्वाचन प्रणालीमा ५० प्रतिशत प्रत्यक्ष र ५० प्रतिशत समानुपातिक बनाउने विषयमा आफूहरु सकारात्मक रहेको जानकारी दिनुभयो ।








