युवालाई लक्षित गरी ५० करोडको कोष खडा गरिने

काठमाडौँ,पुँजीको अभावमा व्यवसाय सुरु गर्न नसकेका युवाका लागि उद्योग मन्त्रालयले रु ५० करोडको कोष खडा गर्ने भएको छ । घरेलु तथा साना उद्योग महासङ्घले बिहीबार राजाधानीमा एक कार्यक्रम गरेर उक्त्त कुराको जानकारी दिएको हो । ‘नेपालमा फलफूल तथा जुस व्यवसायको विकास’ विषयक कार्यशालामा उद्योग मन्त्रालयका सहसचिव जीतबहादुर थापाले व्यवसायको नयाँ सोँच भएका तर पुँजीको अभावमा व्यवसाय सुरु गर्न नसकेका युवालाई लक्षित गरी कोषको योजना अघि सारेको जानकारी दिनुभयो ।

उहाले नेपालले पनि प्राङ्गारिक फलफूल उत्पादन गर्न सीप तथा अत्याधुनिक प्रविधिको ज्ञानलाई विस्तार गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।महासङ्घका अध्यक्ष सुरेश प्रधानले नेपालमा उत्पादित फलफूल भारतमा निर्यात गर्दै आइरहेको भए पनि भारतले खोज्ने गुणस्तर र परिमाण नेपालले पुर्याउन नसकेको तर्फ ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा ‘सेन्टर अफ प्रमोसन अफ इम्पोर्टस् फ्रम डेभलपिङ् कन्ट्रिज्’का तर्फबाट कुलदीप शर्माले कार्यपत्र प्रस्तुत गर्दै सार्क मुलुकका साथै भारतीय बजारमा फलफूल व्यवसायको विकासबारे जानकारी दिनुभयो ।
नेपालले अहिले वार्षिक करिब ९५ हजार टन फलफूलमात्र निर्यात गर्दै आइरहेको छ । तर एक लाख ४० हजार टन विभिन्न खालका फलफूल उत्पादन गरी निर्यात गर्ने सम्भावना रहेको महासङ्घले जनाएको छ ।
नेपालमा विशेष गरी सुन्तला, जुनार, स्याउ, एलोभेरा, बेललगायतका फलफूलको उत्पादन बढी हुने गरेको छ ।
सन् २०१३ मा सार्कका आठवटै मुलुकमा गरिएको एक अध्ययनमा दश प्रकारका उत्पादनलाई साँझा उत्पादनका रुपमा मानेको छ । फलफूल उत्पादन र तयारी पोशाक उत्पादन तत्काल फाइदा लिन सकिने उत्पादन अन्तर्गत रहेका छन् ।
कार्यक्रममा नेपालमा फलफूल उत्पादन व्यवसायमा संलग्न १० सङ्घ संस्थाको सहभागिता रहेको थियो ।

सम्बन्धित शिर्षकहरु