काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले आज आ आफ्नो घरको मठमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धिका लागि सहयोग गर्ने तुलसीको दल राख्दै छन् । तुलसीले धेरै अक्सीजन दिने तथ्य वैज्ञानिक रुपमासमेत प्रमाणित भइसकेको छ ।
प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बीउ रोप्ने गरिन्छ । आजको दिनलाई निर्जला एकादशी पनि भनिन्छ । आज रोपेको बीउ एक महीनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन रोपिन्छ ।
आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काई बढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महीनालाई चतुर्मास भनिन्छ ।
स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । निर्जला एकादशीसमेत भनिने भएकाले आज पानी समेत नपिई व्रत गर्नाले अभीष्ट फल पाइने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।
सक्नेले पानी नखाई व्रत गरे पनि नसक्नेका लागि फलफूल खाएर बस्न सकिने पनि उहाँले जानकारी दिनुभयो । आयुर्वेदिक रुपमा पनि लाभकारी औषधी मानिने तुलसी विभिन्न रोगको उपचारमा पनि प्रयोग गरिन्छ । तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले समेत प्रमाणित गरेको छ ।
यसैले नयाँ भेरियन्टसहितको कोरोना महामारी चलेका बेला घर घरमा तुलसीको दल राख्नु, रोपण गर्दा रोग प्रतिरोधी क्षमता बढाउन सहयोग पुग्ने आयुर्वेद चिकित्सक डा शेषराज आचार्य बताउनुहुन्छ । तुलसीलाई चिया एवं आयुर्वेदिक औषधीका रुपमा पनि प्रयोग गरिन्छ । अन्य खानेकुरामा पनि तुलसीको एक पत्ता राखेर सेवन गर्नाले कीटाणु नाश गर्ने वैज्ञानिक मत छ । यसैले प्राचीनकालदेखि देवतालाई चढाउने प्रसादलगायत सामग्रीमा कम्तीमा एक पत्ता तुलसी राख्ने परम्परा छ ।
तुलसी पत्ता विभिन्न आयुर्वेदिक औषधीका रुपमासमेत प्रयोग गरिन्छ । घर वरपर तुलसी रोपेमा विभिन्न कीटाणु नआई वातावरणलाई शुद्धीकरण गर्न पनि सहयोग गर्ने विश्वास गरिन्छ । तुलसी रोपेको घरमा ब्रह्मा, विष्णु र महेश्वरको सधैँ बास हुने धार्मिक मान्यता छ ।








