काठमाडौं । विश्वका विभिन्न मुलुकमा तिव्र गतिमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ को सम्भाव्य जोखिमलाई मध्यनजर गर्दै सरकारले विमानस्थलमा कडाई गरेको छ ।
सरकारले आम नागरिकमा अत्यन्तै जरुरी कामबाहेक विदेश यात्रा नगर्न आग्रह गरेको छ । कोरोना प्रभावित ५ देशका नागरिकलाई ‘अनअराइभल भिसा’ सुविधामा अस्थायी प्रतिबन्ध लगाएको छ ।
कोराना प्रभावित देशहरूमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीका लागि वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) दिन पनि रोकिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुका आफन्तलाई स्वागत तथा बिदाइमा कडाइ गरिनुका साथै स्थलमार्गबाट नेपाल भित्रिनेहरूलाई पनि अनिवार्य स्वास्थ्य परीक्षण गर्न भनिएको छ ।
सर्वोच्च अदालतले सरकारलाई अन्र्तराष्ट्रिय उडान बन्द गर्न पनि आदेश जारी गरेको छ । विभिन्न ठूला मेला महोत्सव नगर्न, भिडभाड जम्मा नहुन पनि सरकारले आम नागरिकलाई आग्रह गरेको छ ।
यस्तै, सरकारले चीन तथा उसको विशेष प्रशासनिक क्षेत्र हङकङ, दक्षिण कोरिया, जापान, इटाली र इरानका नागरिकलाई नेपालले दिँदै आएको अनअराइभल भिसामा आगामी मार्च १० देखि अर्को व्यवस्था नभएसम्मका लागि रोक लगाएको छ ।








