काठमाडौ । नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचनको गोली हानी हत्या गर्ने समूहका नाइके समीरमानसिंह बस्नेतले जेलबाटै धम्की र असुलीको धन्दा चलाएका छन्।
सहयोगीहरू परिचालन गरी निर्माण व्यवसायीलाई नै धम्क्याएर उनले पैसा असुली गर्दै आएको खुलेपछि प्रहरीले अनुसन्धान थालेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बस्नेतका दुई सहयोगीलाई पक्राउ गरिसकेको छ। फोन गरेर धम्क्याउने धन्दामा संलग्न पवन खड्का र सुरेन नगरकोटीलाई पक्राउ गरेको हो। यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ। उनीहरूले समीरकै निर्देशनमा आफूहरूले व्यवसायीहरूलाई धम्क्याएको स्वीकारेका छन्।
स्रोतका अनुसार सीआईबीले बस्नेतसँगसमेत बयान लिइसकेको छ। जेलबाट झिकाएरै बयान लिएको हो।
बस्नेत हाल सुन्धारास्थित भद्र जेलमा छन्। जेलकै फोन प्रयोग गरी उनले धम्की र असुलीको निर्देशन दिएको प्रहरी स्रोत बताउँछन।








