असार १६ । पर्वत,नेपाल सरकारका मुख्यसचिव लीलामणि पौड्यालले दबाबमा परेर अनावश्यक काममा बजेट खर्च नगर्न सरकारी कार्यालयलाई निर्देशन दिएका छन्।
पर्वत जिल्लाका सरकारी कार्यालयका प्रमुखलाई आज बिहान निर्देशन दिँदै मुख्यसचिव पौड्यालले आर्थिक वर्षको अन्त्यमा अनावश्यक काममा बजेट खर्च नगर्न र काम हुन नसकेको बजेट ‘फ्रिज’ गर्न निर्देशन दिएका हुन् ।
आर्थिक वर्षको अन्त्यमा काम सम्पन्न नभए पनि रकमान्तर गर्ने र अन्य खातामा रकम निकासा दिएर पछि काम सकेका ठेकेदार र उपभोक्तालाई भुक्तानी दिइँदै आएकामा अब असार २५ पछि कुनै पनि रकम निकासा नदिन निर्देशन दिएका छन् ।
“कसैले दबाब दियो भनेर अनावश्यक काममा रकम खर्च नगर्नुस्”, उनले भने “अर्को खातामा रकम जम्मा गरेर खर्च गर्ने प्रचलन तुरुन्तै रोक्नुस्, त्यसो भएमा कारबाही हुनेछ ।” देश नै उभो लाग्छ भन्ने स्पष्ट कारण र प्रमाण भएमात्र त्यस्तो अवस्थामा रकम निकासा दिन सरकारी कार्यालयलाई उनको निर्देशन थियो ।
पछिल्लो समयमा भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलन गर्ने क्रममा सामान्य क्षति भएका संरचनालाई पूर्ण क्षतिमा राख्न दबाब दिएको र गाविसका सचिवलाई अप्ठ्यारो परेको गुनासो आपूmले सुनेको बताउँदै मुख्यसचिव पौड्यालले सचिवलाई गलत काम नगर्न र अप्ठ्यारो परेमा संरक्षण दिन पनि निर्देशन दिए ।
नेपालको सार्वजनिक प्रशासनको छवि राम्रो नभएको भन्दै हरेक कर्मचारीले कामबाट छवि सुधार गर्न निर्देशन दिए । निजामती कर्मचारीलाई कामचोर, समयमा ध्यान नदिने, सेवाग्राहीप्रति अनुदार, गुणस्तरीय काम गर्न नसक्ने आरोप खेप्दै आएको बताउँदै मुख्यसचिव पौडेलले यस्ता आरोपलाई गलत साबित गर्न आवश्यक छ भने
कार्यक्रममा क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले सामुदायिक भवनका नाममा सरकारी सम्पतिको ठूलो दुरुपयोग भएको र त्यस्ता भवनहरु उपयोगबिहीन भएको बताउँदै सामुदायिक भवन निर्माणका नाममा खर्च नगर्न सरकारी कार्यालयलाई निर्देशन दिए।
उनले सहिदका नाममा जङ्गल फडानी गरेर जथाभावी रुपमा पार्क निर्माण गरिएको बताउँदै शहीद र जङ्गललाई दुईपटक सहिद नबनाउन निर्देशन दिए । उनले सह्रसधारामा क्रसर उद्योग सञ्चालकले सडक र नदी अतिक्रमण गरेको तर्फ व्यङ्ग्य गर्दै प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई कालीगण्डकी नदीको खोजी गर्न आफैँले निवेदन दिए ।








