काठमाडौं । आफन्तको अशौचका कारण २३ असारको जन्मोत्सव नमनाउने निर्णयमा पुगेका पूर्वराजा ज्ञानेन्द्र सपरिवार फर्पिङस्थित हात्तीवन रिसोर्टमा पुगेका छन्। जन्मदिनको अघिल्लो दिन आइतबार हात्तिवन रिसोर्ट पुगेका हुन्। हात्तिवन रिसोर्टमा उनीसँगै पूर्व श्री ५ लाग्ने सबैको जमघट छ। विगत वर्षमा राजावादी समूहले उनको जन्मदिनमा राम्रै साथ दिएको भए तापनि यसपटक ७३औं जन्मदिन मनाउने जाँगर भने उनले देखाएनन्।
ज्ञानेन्द्रले, पूर्वरानी कोमल, हिमानी, नातिनीद्वय पूर्णिका र कीर्तिका, नाति हृदयेन्द्र लिएर आइतबार दिउँसै रिसोर्टमा पुगेका हुन्। सोमबार बिहान छोरा पारस, बालसखा प्रभुशमशेर जबरा, पूर्वसैनिक सचिव शान्तकुमार मल्लसहित आफन्तहरु रिसोर्ट पुगेका थिए। रात्रीभोज मनाउन छोरी, ज्वाइँ, धीरेन्द्र-पुत्री र जवाइँहरु, बहिनीलगायत पूर्व श्री ५ लाग्ने सबैको जमघट भएको खबर अाजकाे नेपाल समाचारपत्रले छापेकाे छ।
बुढ्यौलीको कारण महेन्द्र मञ्जिल नछाडेकी पूर्व वडामहारानी रत्नबाहेक सबै आफन्त हात्तिवन रिसोर्टमा पुगेका छन्। करिब एक महिना थाइल्याण्ड बसाइपछि असार ३ गते नेपाल फर्केका ज्ञानेन्द्र कुनै कार्यक्रममा सहभागी हुनुभएको छैन।








