राजपामा असन्तुष्टि चुलियो, शीर्ष नेताले नै गरे बैठक बहिष्कार

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)को बैठक अध्यक्षमण्डलका सदस्य अनिल झाले बहिष्कार गरेका छन् । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बुधबार बसेको बैठक पार्टी कार्यालयमै रहेका झाले बहिष्कार गरेका हुन् ।

बैठक सुरु हुनुअगावै पार्टी कार्यालय आएका झा बैठक सकिएको करिब आधा घन्टासम्म कार्यालयमै बसे पनि बैठकमा उपस्थित भएनन् । ‘अध्यक्षमण्डलको बैठक सुरु हुनुअगावै पार्टी कार्यालय आउनु भएको थियो । बैठक सकिएको केहीबेरसम्म कार्यालयमै बस्नुभयो’ महामन्त्री केशव झाले भने ‘तर, बैठकमा सहभागिता हुनुभएन ।’

झाले बैठक बहिष्कारको कारण बताउन चाहेनन् । ‘म अहिले साथीहरूसँग छलफलमा छु । बैठक बहिष्कारको विषयमा पछि कुरा गरौँला, म अहिले केही भन्न चाहन्नँ’ झाले भने । अध्यक्षमण्डलको संयोजकका रूपमा राजेन्द्र महतोले बोलाएको पहिलो बैठक झाले बहिष्कार गरेका हुन् ।

४ मंसिरमा महतोलाई बहुमतबाट अध्यक्षमण्डलको संयोजक बनाउँदा झाले फरक मत राखेका थिए । ७–९ वैशाखसम्म तय भएको महाधिवेशनसम्म तत्कालीन संयोजक महन्थ ठाकुरलाई नै निरन्तरता दिनुपर्ने तर्क झाको थियो । बुधबारको बैठकमा ठाकुर उपस्थित भए पनि झा भने उपस्थित भएनन् । झा महतो अध्यक्ष रहेको सदभावना पार्टीका महामन्त्री थिए । तर, महतोसँग असमझदारी भएपछि झाले पार्टी फुटाएर नेपाल सद्भावना पार्टी बनाएका थिए ।, नयाँ पत्रिकामा खबर छ ।

सम्बन्धित शिर्षकहरु