भोलि सार्वजनिक बिदा

सिन्धुली । हरिबोधनी एकादशी तथा तुलसी विवाहको दिन यही मंसिर ३ गते दूधौली नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । उक्त नगरपालिकामा दनुवार समुदायको बाहुल्यता रहेको र सो समुदायले यस दिनलाई हरिबोधनी अर्थात बड्की एकादशीका रुपमा विशेष पर्व मनाउने भएकाले सार्वजनिक बिदा दिइएको नगर प्रमुख धनश्याम राउतले जानकारी दिए ।

दनुवार समुदायले मात्र नभई नगर क्षेत्रमा बसोवास गर्ने अन्य समुदायले पनि हरिबोधनी एकादशीलाई पर्वका रुपमा मनाउने गरेकाले बिदा दिइएको जनाइएको छ । नेपाल सरकारबाटै लोपन्मुख जातिमा सूचीकृत सो समुदायको धर्म जगेर्ना गर्नु स्थानीय सरकारको दायित्व भएको बताइएको छ ।

यसअघि दनुवार समुदायले हरिबोधनी एकादशीमा बिदाको माग गर्दै आएका थिए । स्थानीय सरकारले सार्वजनिक बिदा दिन पाउने प्रावधान भए पनि सिन्धुलीमा यो पहिलो बिदा हो ।
नगरपालिकामा बसोवास गर्ने बहुसंख्यक आदिवासी दनुवार जातीको विशेष पर्व भएको र नगरकार्यपालिकाको बैठकबाट निर्णय गरी सार्वजनिक बिदा दिइएको प्रवक्ता रितेश राउत बताएका छन् । (रासस)

सम्बन्धित शिर्षकहरु