काठमाडौं । नेपाली सेनाले आफ्नो मुख्यालय (जङ्गी अड्डा)मा रहेको अफिसर्स क्लब (पार्टी प्यालेस)मा सर्वसाधारणलाई ‘निषेध’ गरेको छ । यसअघि काठमाडौंका हुनेखाने बर्गले विभिन्न पार्टी र विवाह गर्न समेत प्रयोग हुने गरेको आर्मी अफिसर्स क्लबमा अब सरकारी कार्यक्रम र सेनासँग सम्बन्धित व्यक्तिका मात्रै पार्टी आयोजना हुनेछन् ।
सेनाले गत असारदेखि नै सर्वसाधारणलाई अफिसर्स क्लबमा कार्यक्रम गर्न दिएको थिएन । पूर्णचन्द्र थापा कायममुकायम प्रधानसेनापति भएर आएपछि सेनाले आर्मी अफिसर्स क्लबमा सेनाबाहेकका व्यक्तिका कार्यक्रम नराख्ने निर्णय नै गरेको हो ।
सैनिक गोप्यतामा असर पुग्ने, सुरक्षा संवेदनशीलतामा खलल पुग्ने र हो–हल्ला हुनेजस्ता कारणले आर्मी अफिसर्स क्लबलाई भाडामा लगाउन बन्द गर्ने निर्णय गरिएको सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले जानकारी दिए ।
‘सर्वसाधारणलाई भाडामा दिँदा हो–हल्ला हुने, सुरक्षा संवेदनशीलता खल्बलिने जस्ता असरहरु देखिए,’ सहायक रथी भण्डारीले लोकान्तरसँग भने, ‘अब सेनासँग सम्बन्धित व्यक्ति बाहेक बाहिरका व्यक्तिले अफिसर्स क्लबमा पार्टी तथा अन्य समोरह गर्न पाउने छैनन् ।’
-लोकान्तर








