‘तीन वर्ष भित्र मुलुकभर स्वच्छ खानेपानी’

काठमाडाैँ । खानेपानी मन्त्री विना मगरले तीन बर्ष भित्र मुलुकभर स्वच्छ खानेपानीको पहुँच पुर्‍याउने बताएकी छन्। सोमबार राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालय अन्तर्गत विनियोजित बजेटमाथि राष्ट्रिय सभा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिदै मन्त्री मगरले तीन वर्ष भित्र सबैलाई स्वच्छ खानेपानीको पहुँच पुर्‍याउने गरी योजना तर्जुमा गरिएको बताएकी हुन्।

उनले ७७ वटै जिल्लामा र सबै स्थानीय तहमा रहेको खानेपानीको समस्या र चुनौतीको खोजी गर्दै निर्क्यौलमा पुग्ने बताइन्। मन्त्री मगरले एक घर एक धारा र एक घर एक शौचालयको कार्यनीति अनुसार ७७ वटै जिल्लामा क्रमागत रुपमा रहेका तीन हजार दुई सय ४९ उच्च प्रविधियुक्त खानेपानी आयोजनाहरुको प्रदेशस्तरबाट निर्माण गर्न प्रक्रिया आरम्भ गरिएको जानकारी दिईन्।

यस्तै, उनले तराई मधेसमा आर्सेनिक मुक्त खानेपानी वितरणको व्यवस्था मिलाउन २१ जिल्लामा ६ सय ३७ क्रमागत आयोजनाहरु पनि प्रदेशस्तरबाट संचालनमा आउने गरि प्रक्रिया आरम्भ गरिएको पनि जानकारी दिइन्।

शहरी क्षेत्रमै जार र मिनरल वाटरको रुपमा आउने पानी पनि पिउन योग्य नभएको भन्ने सन्दर्भमा उनले क्षेत्राधिकार भन्दा बाहिर रहेको जार र मिनरल वाटरलाई पनि अनुगमन गर्न पाउने गरी नियम ल्याउने तयारी भएकाले त्यसलाई कडाईका साथ अनुगमन गरिने प्रतिवद्धता जनाइन्।

सम्बन्धित शिर्षकहरु