
काठमाडौं । चैतदेखि गोपाल र अजय हाम्रो घरको भुइँतलामा डेरा गरेर बसेका हुन् । उनीहरू काम नपरेका दिन बिहान ९–१० बजेसम्मै सुत्थे । तर सोमबार बिहानै घर बाहिर देखेपछि मैले कहाँ गएर आएको भनेर सोधेँ । गोपालले फोहोर फालेर आएको बतायो ।
रातभर नै हाम्रो घर वरिपरि प्रहरीले छापा मारेको कुरा बिहान थाहा भयो । ९ बजेतिर हाम्रो घरमा ३ गाडी र ४ मोटरसाइकलमा मान्छे आए । पछि पो थाहा भयो तिनीहरू सादा पोसाकका प्रहरी रहेछन् । घरधनीलाई माथिबाट तल झर्न नदिई गोपाल र अजय बस्ने कोठा सर्च गरे । गोपालले शव गाडेको ठाउँ देखाएपछि केही प्रहरी त्यता लागे ।
उनीहरूले गोपाल र अजयलाई कोठाभित्र थुनेर कुटेजस्तो लाग्यो । कुटेको आवाज बाहिरसम्मै सुनिएको थियो । एउटाको त हात नै भाँचिएजस्तो लाग्छ ।
करिब एक घण्टापछि प्रहरीले उनीहरूलाई गाडीमा हालेर लग्यो । प्रहरीले नै ढोका लगाएर साँचो लगेको थियो । त्यसको केहीबेरमा हुलका हुल प्रहरी डयुटी पोसाकमा आए । ती प्रहरी ढोका फोडेर भित्र जान खोजे । कोठाको साँचो सादा पोसाकका प्रहरीले नै लगेको बताएपछि उनीहरूले झ्यालमाथिको खापाबाट मात्रै भित्र नियालेका थिए ।
–अपहरणकारी भनिएका अजय र गोपाल डेरा गरी बस्ने घरकै एक सदस्य
‘मारिएकाको खुट्टामा कसरी चप्पल ?’
अजय र गोपाल पेन्टरको काम गर्छन् भन्ने सुनेको हो । सोमबार बिहान उनीहरूलाई प्रहरीले लग्यो रे । अपहरण गरी बच्चा मारेछन् रे भन्ने पनि सुनें । उनीहरू सामान्य खालका केटा थिए । पहिले त्यस्तो बदमासी गरेको पनि केही सुनिएको थिएन । पेन्टका गोल्टिन बट्टामा कपडा पट्याएर राख्थे । पछि पो उनीहरू मुठभेडमा मरेको कुरा सुनें । उनीहरूको खुट्टामा चप्पल पनि देखें । घरबाट उनीहरूलाई लैजाँदा उनीहरूका खुट्टामा चप्पल नै थिएन । पछि कसले चप्पल लगाइदियो थाहा भएन ।
–अजय र गोपाल डेरा गरी बस्ने घर नजिकैका एक स्थानीय
अाजको कान्तिपुर दैनिकले खबर छापेको छ ।








