
काठमाडौं । २७ दिन आमरण अनशन बसेर सरकारसँग सम्झौता गरेका प्रा.डा. गोविन्द केसीले तोकिएको समयमा सरकारले आफ्ना माग पूरा नगरे पुनः अनशन बस्ने चेतावनी दिएका छन् । अनशन तोडेपछि उपचार गरी आज डिस्चार्ज भएका केसीले पत्रकार सम्मेलन गरेर सरकारले सम्झौता कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे । कुनै बहाना, छलछाम वा ढिलाइ नगरी शीघ्र राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदबाट पारित हुनेमा आफू विश्वस्त भएको उनले बताए ।
सम्झौतालाई मन्त्रिपरिषद्बाट अनुमोदन गराउनुपर्नेमा १३ दिन भइसक्दा पनि नगराएकाले तत्काल सो काम पूरा गर्न केसीले स्मरण गराएका छन् । पत्रकार सम्मेलनमा केसीले प्रधानमन्त्रीले अब अनशन बस्नु पर्दैन भनेको स्मरण गर्दै त्यो वातावरण बनाउन पनि आग्रह गरेका छन् ।
सम्झौता कार्यान्वयनका लागि सरकारलाई आफूले १५ दिनको समय दिएको उनले बताए । आफ्नो अनशनकाक्रममा बिरामीलाई पर्न गएको असुविधाप्रति केसीले माफी पनि मागेका छन् ।








