
काठमाडौं । सरकारले सैनिक सेवा नियमावली, २०६९ लाई संशोधनगरेको छ । नयाँ संसोधित नियमावलीमा कार्य क्षेत्रमा खटिँदा मृत्यु भएका सैनिकका परिवारलाई सात वर्षसम्म पूरा पारिश्रमिक उपलब्ध गराउने व्यवस्था गरिएको छ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले कार्य क्षेत्रमा खटिँदा मृत्यु भएका सैनिकका परिवारलाई ७ वर्षसम्म पूरा पारिश्रमिक उपलब्ध गराउने व्यवस्था गरिएको जानकारी गराएका हुन्।
सोमबार सैनिक मुख्यालय भद्रकालीमा आयोजित वीरगति प्राप्त गरेका सैनिक परिवारको एक दिने कार्यशाला गोष्ठीमा बोल्दै उनले पीडित सैनिकका परिवारलाई राहत दिन सरकारले सैनिक सेवा नियमावली संशोधन गरेको पनि स्पष्ट पारे। गत असार २० गते बसेको मन्त्रीपरिषद बैठकले संशोधन गरेको नियमावलीमा कार्य क्षेत्रमा खटिँदा मृत्यु भएका सैनिक जवानको एक तह स्वतः बढुवा गर्ने व्यवस्था पनि गरिएको छ।
त्यसैगरी सैनिक जंगी कारबाही वा सेना परिचालन भएका बेला आकस्मिक दुर्घटनामा परी अशक्त भएका सैनिकलाई एक तह बढुवा गर्ने व्यवस्था पनि गरिएको छ। उपप्रधानमन्त्री पोखरेलले पीडित सैनिकका परिवारलाई सम्बोधन गर्न सरकार लागि परेको पनि बताए।
कर्तव्य पालनाको शिलशिलामा कुनै सैनिक वेपत्ता, अशक्त वा घाईते र मृत्यु भएमा निजको परिवारले निवृत्तिभरण र उपदान पाउने व्यवस्था पनि संशोधित सैनिक सेवा नियमावलीमा गरिएको छ। त्यसैगरी सरकारले वेपत्ता, अशक्त वा घाईते र मृत्यु भएमा सैनिकका छोराछोरीलाई शैक्षिक भत्ता उपलब्ध गराउने व्यवस्था पनि गरेको छ।








