काठमाडौं । माओवादी सशस्त्र युद्धका बेला गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न रहेको आरोप लागेका आरोपी छविलाल पौडेललाई जेल चलान भएका छन् । सर्वोच्च अदालतको आदेशअनुसार पौडेललाई पक्रेर डिल्लीबजार कारागारमा राखिएको छ।
२०७२ पुसमा न्यायाधीश गिरिशचन्द्र लाल र दीपकराज जोशीको इजलासले पुनरावेदनको आदेश बदर गर्दै पौडेलमा थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो। सोही आदेश कार्यान्वयन गर्न उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यसअघि जिल्ला अदालत चितवनले पौडेललाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। पुनरावेदन अदालत हेटौंडाले पनि जिल्ला अदालतको फैसला सदर गरिदिएको थियो। छोराको हत्यारालाई कारबाहीको माग गर्दै कृष्णप्रसादकी आमा गंगामाया अधिकारी लामो समयदेखि पटकपटक आमरण अनसनमा बस्दै आएकी छिन्। पछिल्लो पटक अनसनकै क्रममा उनको स्वास्थ्य अवस्था जटिल बनेपछि आइसियूमा राखेर उपचार भइरहेको छ।
छोराको हत्यारालाई कानुनी कारबाही गर्न माग गर्दै पिता नन्दप्रसाद अधिकारीले अनसन सुरु गरेपछि २०७० साउनमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो। नन्दप्रसादको अनसनकै क्रममा २०७१ असोज ६ मा मृत्यु भएको थियो। द्वन्द्वकालमा चितवनको रत्ननगरस्थित मामाघर जाने क्रममा २०६१ जेठ २४ गते कृष्णप्रसादलाई तत्कालीन विद्रोही माओवादीले अपहरण गरी हत्या गरेको थियो।









