कांग्रेस जिल्ला सभापतिको भेला: उद्घाटन कार्यक्रममै असन्तुष्टि,मञ्चमै गएनन् सिटौला

काठमाडौं । मंगलबारदेखि सुरु भएको जिल्ला सभापतिहरूको राष्ट्रिय भेलामा कांग्रेस शीर्ष नेताहरूले आन्तरिक एकताको संकल्प गर्नुपर्ने धारणा राखे । तर, उद्घाटन कार्यक्रममै गुटगत विभाजन र नेताहरूबीचको मनमुटाव छताछुल्ल भयो । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पटक–पटक बोलाउँदा पनि मञ्चमा गएनन् । नेताहरूले प्रदेशगत रूपमा जिल्ला सभापतिहरूलाई छुट्टाछुट्टै भेटेर छलफल गरिरहेका छन् ।

उद्घाटन कार्यक्रममा सभापति शेरबहादुुर देउवाले यसपटक मौखिक भाषण गरेनन् । बोल्दा बिग्रन सक्ने भएकाले १५ मिनेट लामो लिखित मन्तव्य पढे । बाल्यकालदेखि अहिलेसम्म आफ्नो जीवन राष्ट्र, लोकतान्त्र र कांग्रेसमा समर्पित भएको भन्दै उनले पूर्वाग्रह राखेर प्रस्तुत नहुन आग्रह गरे ।

नेता रामचन्द्र पौडेल, विजयकुमार गच्छदार, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा। शशांक कोइरालाले अब पनि पार्टीलाई एकढिक्का नबनाए झन् कमजोर बन्दै जाने बताए । भेलाबाट निस्किँदा पार्टी एकढिक्का भएको सन्देश व्यवहारले नै दिनुपर्ने जोड उनीहरूको थियो । मंगलबार उद्घाटन मात्रै भएको छ, बुधबारदेखि छलफल सुरु हुनेछ ।

उद्घाटन कार्यक्रममै असन्तुष्टि
उद्घाटन कार्यक्रममा सभापति देउवा, नेता रामचन्द्र पौडेल, संसदीय दलका उपनेता विजयकुमार गच्छदार, महामन्त्री डा। शशांक कोइराला मात्रै बोले । पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालाई वक्तामा समेटिएन । यही कारणले सिटौला उद्घाटन समारोहको मन्चमा समेत गएनन्, तलै बसे ।

विरोध हुने डरले बोल्न दिइएन: सिटौला पक्ष
पार्टी नेतृत्वको आलोचना गर्ने डरले सिटौला र प्रकाशमानलाई बोल्न नदिइएको सिटौला पक्षको आरोप छ । ‘सभापतिको कार्यशैली, पार्टीभित्रको भद्रगोल अवस्थाका विषयमा खरो बोल्ने कोही भएनन्,’ एक केन्द्रीय सदस्यले भने, ‘सिटौला र प्रकाशमानलाई बोल्न दिँदा नेतृत्वको आलोचना हुन्छ । त्यसको असर जिल्ला सभापतिहरूमा पर्छ । उनीहरूले पनि विरोध गर्छन् भन्ने डरले बोल्न दिइएन ।’

केन्द्रीय कार्यालय आयोजक र मकवानपुर कांग्रेस व्यववस्थापक रहेको भेला लामो हुने, जिल्ला सभापतिका सुझाब, गुनासा सुन्नुपर्ने भएकाले थोरै वक्ता राखिएको संस्थापन पक्षको दाबी छ । साढे ११ बजेबाट उद्घाटन सत्र सुरु हुने भनिए पनि झन्डै दुई घन्टा ढिलो गरी कार्यक्रम सुरु भयो । साढे दुई घन्टा उद्घाटन कार्यक्रम चलेपछि मंगलबार नै जिल्ला सभापतिहरूले आफ्ना सुझाब दिने गरी बन्दसत्र सुरु गर्ने तयारी भए पनि हुन सकेन । बुधबार बिहानलाई छलफलको कार्यक्रम सारिएको छ । यसलाई पनि रामचन्द्र पौडेल र सिटौला पक्षले संस्थापनको नियोजित काम भनेको छ ।

‘धेरैभन्दा धेरै जिल्ला सभापतिहरूले बोल्न खोजिरहनुभएको छ । मंगलबार चार घन्टा मात्र छलफल गराएको भए झन्डै २० जिल्ला सभापतिले धारणा राख्थे,’ एक नेता भन्छन्, ‘तर, नेतृत्वले आलोचना हुने डरले सामूहिक छलफल गराएर टार्न खोजेको छ ।’ कार्यक्रम उद्घाटनस्थलमै भेटिएका संस्थापन पक्षकै ललितपुर जिल्लाका कांग्रेस सभापति मदन अमात्यले आफूहरू नबोली नछाड्ने बताए । ‘हाम्रै सुझाब सुन्न, गुनासो सुन्न र पार्टीलाई सुधार्दै रचनात्मक बनाउन भेला डाकिएको हा,’ अमात्यले भने, ‘तलसम्म संगठनको अवस्था बुझेका हामीले कुरा राख्न पाएनौँ भने भेला गरेको के अर्थ हुन्छ रु’

जो आक्रामक हुने तयारीमा छन्
जिल्ला सभापतिमध्ये नुवाकोटका जगदीश्वरनरसिंह केसी, धादिङका रमेश धमला, झापाका उद्धव थापा, डडेल्धुराका कर्ण मल्ल, रामेछापका लवश्री न्यौपाने, चितवनका जितनारायण श्रेष्ठसहितका जिल्ला सभापति आक्रामक रूपमा बन्दसत्रमा प्रस्तुत हुने तयारीमा छन् ।

संस्थापन पक्ष बचाउमा
पौडेल र सिटौला पक्ष नेतृत्वप्रति आक्रामक हुने तयारीमा रहँदै गर्दा संस्थापन पक्षका सभापतिहरू नेतृत्वको बचाउमा लाग्ने तयारीमा छन् ।
कसले के भने ?

भेलाले कांग्रेसलाई ऊर्जा दिन्छ : शेरबहादुर देउवा, सभापति
कांग्रेसलाई ऊर्जा दिन जिल्ला सभापतिहरूको भेला आयोजना गरेका हौँ । तीतामीठा कुराहरु भेलाबाट टुंग्याएर अघि बढ्ने सोच बनाइएको छ । पार्टीको विधान संशोधनलाई प्राथमिकता दिने र अधिकांशको प्रतिक्रियालाई स्विकार्दै त्यसैअनुसार अघि बढ्नेछौँ । केपी ओलीको राष्ट्रवाद लम्पसारवादमा परिवर्तन भइसकेको अवस्थामा लोकतन्त्र खतरामा पर्ने स्थिति पनि छ । कम्युनिस्टको हातमा कदापि लोकतन्त्र सुरक्षित हुन सक्दैन । कांग्रेसको पराजयले कांग्रेसीहरू कमजोर मानसिकता नभई उच्च मनोबलका साथ अघि बढ्नुपर्छ । पार्टीभित्र केही असन्तुष्टि अभिव्यक्त भइरहेकै छन् । कतिपय असन्तुष्टिलाई स्वाभाविक रूपमा लिएको छु भने कतिपय कुरा अतिरञ्जित र अशोभनीय ढंगले पनि उठ्ने गरेका छन् ।

दिल मिले मात्र एकता हुन्छ स् रामचन्द्र पौडेल, वरिष्ठ नेता
जिल्ला सभापतिहरूको आग्रह र सक्रियताकै कारण यो भेला आयोजना गरिएको हो । यो भेलाले कांग्रेसलाई नयाँ उचाइमा पु(याउनेमा म विश्वस्त छु । तर, गुट–उपगुट त्यागेर एकता हुनु जरुरी छ । कम्युनिस्टले एकता ग(यो भनेर हामी डराउने होइन, हामी एक भएर एकताको उदाहरण दिने हो । गुट–उपगुट कसरी बन्यो, एकता किन भएन र केका लागि हुन्छ भन्ने प्रस्ट पार्न जरुरी छ । खुट्टालाई थाहा हुन्छ, पाइला अघि बढाइरहँदा किला कहाँ–कहाँ बिझेको छ । सबैलाई थाहा छ, किला कसरी कहाँ बिझेको छ । बाहिरी आवरणको एकताले केही हुँदैन वास्तविक एकता आवश्यक छ । मैले धेरैपटक सभापतिजीलाई आग्रह गरेको छु, कसरी कांग्रेसलाई अघि बढाउन सकिन्छ र हामी कस्तो अवस्थामा छौँ । तर, उहाँले वास्ता गर्नुभएन । हात मिलाएर एकता हुँदैन दिल र मन मिलेपछि मात्र एकता हुन्छ ।

विशेष परिस्थितिमा भेला : विमलेन्द्र निधि, उपसभापति
विशेष परिस्थितिमा भएको यो भेलाले कांग्रेसलाई गुटको होइन जुटको राजनीति अघि बढाउन मद्दत पु(याउनेमा म विश्वस्त छु । कांग्रेसले गुट–उपगुट र अन्तरद्वन्द्व त्यागेर एकतामा अघि बढे हामी फेरि विजयोत्सव मनाउनेछौँ । पाँच वर्षपछि विजयोत्सव मनाउन सक्छौँ ।

भेलाले एकताको सन्देश दिनुपर्छ
विजयकुमार गच्छदार, संसदीय दलको उपनेता, संघीय संसद्
यो भेलाले पार्टीलाई एकढिक्का बनाउन सक्छ कि सक्दैन भन्ने सवाल महत्वपूर्ण हो । पार्टीलाई एकढिक्का बनाउन यो भेला आयोजना गरिएको हो । भेलाले एकताको सन्देश प्रभाव होस् भन्ने चाहना राखेका छौँ । अहिले कम्युनिस्ट वैचारिक रूपमा एक भए पनि कांग्रेसको लामो इतिहास छ, त्यो इतिहासलाई हामीले जीवितै राख्न सक्नुपर्छ ।

एकआपसमा नमिले सधैँ पछाडि : डा.शशांक कोइराला, महामन्त्री
कांग्रेसलाई एक बनाएर एक नम्बर बनाउने जिम्मा जिल्ला सभापतिहरूको हो । हामी एकआपसमा नमिले सधैँ पछाडि पर्ने निश्चित छ । गुट–उपगुटले कांग्रेसलाई यो अवस्थासम्म पु(याएको हो । अब सबै तिक्तता त्यागेर एक हुनुको विकल्प छैन ।

सभापतिहरूलाई फकाउँदै नेता
संस्थापन पक्षसँग निकट ३२, पौडेल पक्षसँग ३७ र सिटौला निकट ६ जिल्ला सभापति छन् । उनीहरूले भेलामा धारणा राख्नुअघि नै नेताहरूले भेटेर आफ्नो अनुकूल बनाउन छलफल गरिरहेका छन् । सटौलाले मंगलबार बिहान प्रदेश १ का जिल्ला सभापतिहरूसँग छलफल गरे । त्यस्तै, डा। शेखर कोइरालाले पनि केही जिल्ला सभापतिलाई छुट्टै भेटे । सिटौला पक्षले यसअघि केन्द्रीय समितिमा बुझाएको लिखित प्रस्तावमा अब स्थानीय तहको अधिवेशन तत्काल सुरु गर्नुपर्ने विषय थप्दै जिल्ला सभापतिहरूलाई बाँड्ने तयारी गरेको छ । केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीको महाधिवेशन आउने वेला स्थानीय तहको अधिवेशन गर्दा निर्वाचनमा सहज हुने भन्दै यो विषय थपेर सबै जिल्ला सभापतिलाई बाँड्न लागेको जानकारी दिए ।

मञ्चमै गएनन् सिटौला
१३औँ महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवालाई जिताउन साथ दिएका कृष्णप्रसाद सिटौला गत निर्वाचनमा टिकट वितरणलाई लिएर देउवासँग चिढिएका छन् । त्यसयता देउवाका हरेक कार्यशैलीमा सिटौलाको आपत्ति रहँदै आएको छ । जिल्ला सभापतिहरूको भेला उद्घाटन कार्यक्रममा पनि उनले असन्तुष्टि देखाए । वक्ताका रूपमा नराखिए पनि पूर्वमहामन्त्रीको हैसियतमा उनलाई मञ्चमा बोलाइएको थियो, तर गएनन् । मकवानपुर कांग्रेस सभापति इन्द्र बानियाँले तीनपटकसम्म नजिकै पुगेर आग्रह गरे पनि मञ्चमा उक्लिन रुचि देखाएनन् ।आजको नयाँ पत्रिकामा खवर छ ।

सम्बन्धित शिर्षकहरु