
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले नेपालको अहिलेको राजनैतिक परिवर्तन अनुकरणीय र संसारकै मौलिक भएको बताएका छन् । उनले त्यसका नेतृत्वकर्ताहरुलाई विश्वमा स्थापित गर्न पहल गर्नुपर्नेमा जोड दिए ।
११ औं गणतन्त्र दिवसको अवसरमा मंगलबार काठमाडौंमा गणेशमानसिंह जन–आन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठानको आयोजनामा गणतन्त्र दिवसको संस्मरणमा ‘संविधानको गतिशीलता र राजनैतिक दलको भूमिका’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले त्यस्तो धारणा राखेका हुन् ।
उनले नेपालको परिवर्तनमा मुख्य भूमिका खेल्ने नेतृत्वलाई अन्तर्राष्ट्रिय रुपमा स्थापित गराउनुपर्ने बताए । ‘सात राजनीतिक दलको तर्फबाट शान्ति सम्झौताका हस्ताक्षरकर्ता दिवंगत नेता गिरिजाप्रसाद कोइराला र निकै ठूलो जोखिम उठाएर र ठूल्ठूला क्षति व्यहोरेर विद्रोहलाई शान्तिमा रुपान्तरण गर्ने र लोकतन्त्रमा रुपान्तरण गर्ने हामी दुबै शान्ति सम्झौताका हस्ताक्षरकर्तालाई अन्तराष्ट्रिय रुपमा स्थापित र पुरस्कृत गर्न किन पहल गर्दैनौं ?,’ प्रचण्डले प्रश्न गर्दै भने, ‘यसका लागि हामीमा किन जाँगर आउँदैन ?’
नेपालको ऐतिहासिक परिवर्तनलाई सम्मानित गर्ने, सात राजनैतिक दल र नेकपा माओवादीका सबै नेताहरुलाई सम्मानित गर्ने र नेपालको लोकतान्त्रिक आन्दोलनको इज्जत प्रतिष्ठालाई विश्वभरि स्थापित गर्ने कार्य नेपाल राष्ट्रका लागि महान् हुने अध्यक्ष प्रचण्डको भनाई थियो ।
अध्यक्षले नेपालको राजनीतिक परिवर्तन अन्यत्रको भन्दा मौलिक ढंगले सम्पन्न भएको हो भन्ने भावी सन्ततीको निम्ति पनि यो ठूलो पाठ हुने बताए । ‘हामीले यसो गर्यौं भने यो कुरा गिरिजाप्रसाद र प्रचण्डको लागि मात्र हुँदैन । हाम्रो इज्जत, प्रतिष्ठा, त्याग, तपस्या र बलिदानलाई सम्मानित गर्न र मानव जातिकै निम्ति एउटा राम्रो उदाहरण हो भनेर प्रस्तुत गर्न अरु त चाहँदैनन् नै तर हामी नै पनि किन बल गरिरहेका छैनौं,’ अध्यक्षले प्रश्न गरे । उनले नेपालीहरुले नै यसको लागि पहल गर्नुपर्ने बताए ।
अध्यक्षले नेपालको राजनीतिक इतिहासका सन्दर्भमा वामपन्थी र प्रजातन्त्रवादी भन्ने दुईटा बिचार बोकेका पार्टीहरु आपसमा सहमति गर्दा ठूलाठूला परिवर्तन भएका र एकआपसमा आशंका र निषेध गर्दा देशपछाडि धकिलिएको स्मरण गराए ।








