अब कामदारलाई बैंकबाटै तलब भुक्तानी, सञ्चय कोष व्यवस्था पनि अनिवार्य

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार गरेको श्रम नियमावली–२०७५ लाई मन्त्रिपरिषद्ले पारित गरेको छ । आइतबार सो नियमावली पारित भएपछि अब कामदारलाई बैंकबाटै अनिवार्य तलब भुक्तानी दिनुपर्ने बाध्यकारी कानुन लागू हुनेछ ।

सरकारले श्रमिकको तलब सुरक्षा गर्न आगामी आर्थिक वर्षदेखि बैंकबाट अनिवार्य तलब भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको हो । अब एक जना श्रमिक राख्ने रोजगारदाताले पनि बैंकबाट तलब भुक्तानी गर्नुपर्नेछ । यस नयाँ श्रम नियमावलीअनुसार औद्योगिक, कृषि र घरेलु कामदारको तलबसमेत बैंकबाट भुक्तानी गर्नुपर्नेछ ।

यसैगरी, कर्मचारीको सञ्चय कोषको व्यवस्था पनि अनिवार्य गरिएको छ । जसका लागि रोजगारदातालाई मार्गनिर्देश गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकको बैंक खाता सञ्चालनसम्बन्धी निर्देशिका ल्याउनेछ ।

त्यसपछि वार्षिक १५ दिनभन्दा बढी एउटै रोजगारदाताले काम लगाएका श्रमिकलाई बैंक खाताबाटै पारिश्रमिक भुक्तानी गर्नुपर्ने व्यवस्था हुने श्रम मन्त्रालयले जनाएको छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले मुलुकमा कार्यरत करिब २ करोड १५ लाख श्रमिकलाई सम्बोधन गर्नेगरी नियमावली आएको बताए, राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित शिर्षकहरु