
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डा. मीनेन्द्रप्रसाद रिजालले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सभामुख र राष्ट्रियसभाको अध्यक्षलाई सम्माननीय भन्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै गुनासो व्यक्त गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथि संशोधनको प्रस्ताव प्रस्तुत गर्दै उनले ठूलो आन्दोलन र बलिदानबाट प्राप्त उपलब्धिको रक्षा र सम्मान गर्ने कार्यमा आगामी दिनमा कहीँ कतैबाट कमजोरी नहोस् भने ।
डा. रिजालसहित नेपाली काँग्रेसका १७ सांसदले संशोधनको सूचना दर्ता गराएका छन् । कृषिलाई व्यवसायीकरण गर्ने, प्राङ्गारिक खेतीलाई अभियानका रुपमा अघि बढाउने तथा सिँचाइका कार्यक्रम विस्तार गर्ने भनिए पनि यसको कार्यान्वयनको स्पष्ट खाका नरहेको टिप्पणी उनले गरे ।
नेता मदन भण्डारीका नाममा हुलाकी राजमार्गलाई प्रतिष्पर्धी गर्ने ढंगबाट राजमार्ग निर्माण गर्दा तराई क्षेत्रबाट आउन सक्ने आवाजलाई ध्यान दिन आवश्यक रहेको बताउँदै डा रिजालले नीति तथा कार्यक्रमले जनतालाई निराशा दिएको र मतदाताको अपमान भएको आरोप लगाए । सपना देखाएर नभई धरातललाई टेकेर बजेट ल्याउन उनले सुझाव दिए ।








