काठमाडौं । सरकारले यातायात क्षेत्रको सिण्डिकेट खारेज गर्ने निर्णय गरेपछि आन्दोलित यातायात व्यवसायी समितिहरुको बैंक खाता रोक्का गर्ने भएको छ। शुक्रबार गृह मन्त्रालयमा भएको बैठकले उनीहरुको खाता रोक्का राख्ने र सम्पत्ति छानबिन गर्ने निर्णय गरेको हो।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमा आवद्ध रहेका करिब २ लाख ५० हजार सार्वजनिक सवारीसाधन बसपार्क र ग्यारेजमा थन्क्यार्इ आजदेखि सरकारको निर्णय विरुद्ध आन्दोलित भएका छन् ।
सिण्डिकेट खारेजको विरोधमा आन्दोलित यातायात व्यवसायीहरुले सार्वजनिक सवारी साधन बन्द गराएका छन् । साधन बन्द गराएर यात्रुको बिचल्ली परेपछि सेवा ठप्प पार्ने यातायात व्यवसायीका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन दिएका थिए ।उत्तः निर्णयपछि प्रहरीले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला सहित एक सय जना भन्दा बढि पक्राउ गरिसकेको छ ।
सिन्डिकेटको दादागिरी विरुद्धगृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, गर्भनर डा चिरञ्जीवी नेपाल लगायतको बैठकले खाताबन्द गर्ने निर्णय गरेको हो।
खाता रोक्काका लागि यातायात व्यवस्था विभागले समितिहरुको सबै विवरण अर्थ मन्त्रालयलाई पठाउने भएको छ। साथै सबै यातायात व्यवसायीहरुको सम्पत्ति छानबिनका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गर्ने निर्णयसमेत भएको छ।
खासगरी यातायात व्यवसायी महासंघका पदाधिकारीहरुको सम्पत्ति छानबिन गर्न लागिएको छ। बैठकले आन्दोलन फिर्ता लिन व्यवसायीलाई आग्रहसमेत गरेको छ।







