काठमाडौं । विशेषज्ञ डाक्टरको अध्ययन शुल्क घट्ने भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)को बैठकले विशेषज्ञ डाक्टरको अध्ययन शुल्क घटाउने निर्णय गरेको हो। संस्थानको आज बसेको बैठकले शुल्क आठ लाख घटाउने निर्णय गरेको हो ।
अघिल्लो शैक्षिक सत्रमा त्रिवि कार्यकारी परिषद्ले विशेषज्ञ तह अध्ययनका लागि ३१ लाख रुपैयाँ शुल्क तोकेको थियो। संस्थानको आज बसेको बैठकले सो शुल्क घटाएर २३ लाख लिने निर्णय गरेको हो।
त्रिवि कार्यकारी परिषद्ले आईओएमको सिफारिस अनुसार निर्णय गरेपछि मात्र नयाँ शुल्क कार्यान्वयनमा आउनेछ। बैठकले केही कलेजहरूको पिजीमा सिट संख्या थप्ने निर्णय गरेको छ। त्रिवि अन्तर्गतका सात मेडिकल कलेजमा चिकित्साशास्त्रतर्फ विशेषज्ञ तहको पढाइ हुँदै आएको छ।








