नेपाल र भारतबीच पहिलो सुपुर्दगी, ‘ज्यानमारा’ मुखिया पक्राउ गरि बुझाईयो

काठमाडौं । भारतको दिल्लीस्थित पटियाला अदालतको आदेशपछि भारतीय प्रहरीले नेपाल प्रहरीको मोस्ट वान्टेड सुचीमा रहेका एक जना अभियुक्तलाई सुपुर्दगी गरेको छ । १६ वर्षअघि ठमेलको एक हत्यामा फरार रहेका आतिनी भन्ने मुखिया गुरुङलाई नेपाल प्रहरीले भारतबाट पक्राउ गरी नेपाल ल्याएको छ ।

पहिलोपटक कानुनी प्रक्रिया पुर्‍याएर नेपाल प्रहरीले मोस्ट वान्टेडको सुचीमा रहेका गुरुङलाई भारतमा पक्राउ गरी नेपाल ल्याएको हो । गुरुङलाई जन्मकैदको फैसला भइसकेको छ।

२०५८ साल कात्तिक १८ मा उनी लगायतका व्यक्तिले ठमेलको जुलिया स्टुडियो ५४ डिस्कोमा सुवर्ण गुरुङको हत्या गरेका थिए। हत्यायता फरार रहेका उनको नाममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को पहलमा रेड कर्नर नोटिस जारी गरिएको थियो।

प्रहरीले उनले प्रयोग गर्ने पासपोर्ट पत्ता लगाई इन्टरपोलको ब्ल्याकलिस्टमा राखेपछि उनी मंसिर २२ मा जयपुरमा पक्राउ परेका थिए। भारतको जयपुर विमानस्थलबाट बैंकक जान लाग्दा उनलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउपछि नेपाल प्रहरीले कानुनी प्रक्रिया पुर्‍याएर नेपाल ल्याउन प्रक्रिया अघि बढाएको थियो।

सोही अनुसार दिल्लीस्थित पटियाला अदालतले उनलाई नेपाललाई हस्तान्तरण गर्न मिल्ने आदेश दिएको थियो। २ महिना लामो प्रयासपछि उनलाई पक्राउ गरेर नेपाल ल्याइएको नेपाल प्रहरीको इन्टरपोल शाखाले जनाएको छ ।

अदालतको आदेशपछि भारतीय प्रहरीले उनलाई सुपुर्दगी गरेको हो। सुपुर्दगीपत्रमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजको हस्ताक्षर छ। गुरुङलाई विदेशबाट पक्राउ गर्न सिआइबीले पहल गर्दै आएको थियो।

नेपाल प्रहरीले तीव्र खोजी गरेको कारण उनले भारतको विमानस्थल प्रयोग गरेका थिए। विगतमा पनि नेपाल प्रहरीले पटक–पटक भारतबाट अभियुक्तलाई पक्राउ गरेर ल्याउँदै आएको थियो। तर, कानुनी प्रक्रिया पूरा नगरी ल्याउने भएकाले प्रहरीले नेपालमै पक्राउ गरेको बताउने गरेको थियो। यसपटक भने कानुनी प्रक्रिया पूरा गरेरै ल्याइएको हो।

सम्बन्धित शिर्षकहरु