एजेन्सी । त्रिदेशीय ट्वेन्टी ट्वेन्टी क्रिकेट श्रृङ्खलाको पहिलो खेलमा अष्ट्रेलिया ७ विकेटले विजयी भएको छ । सिड्नीमा बर्षाले प्रभावित खेलमा न्यूजिल्याण्डले दिएको ९५ रनको लक्ष्य अष्ट्रेलियाले ११ ओभर ३ बलमा ३ विकेट गुमाएर भेट्टाएको हो । अष्ट्रेलियालाई जिताउन क्रिस लायनले ४४ र ग्लेन म्याक्सवेलले नटआउट ४० रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १७ रन बनाएको थियो ।
उसका लागि कोलिन डी ग्रान्धोमीले ३८ र रोस टेलरले २४ रन बनाए । तर अष्ट्रेलियाले जवाफी व्याटिङ थाल्नुअघि नै पानी परेपछि खेल १५ ओभरमा झारिएको थियो । पानीले प्रभावित खेलमा घरेलु टोलीलाई डकवर्थ लुइस मेथडअनुसार ९५ रनको नयाँ लक्ष्य दिइएको थियो । जुन अष्ट्रेलियाका लायन र म्याक्सवेलले समान एक छक्कासहित ६ चौका र ५ चौका हानेर पूरा गरे ।
यो श्रृङ्खलामा इंग्ल्याण्ड पनि सहभागी छ । इंग्ल्याण्ड र अष्ट्रेलियाबीच आउने बुधबार दोस्रो खेल हुनेछ । ट्रान्स तास्मान ट्वेन्टी ट्वेन्टी श्रृङ्खलामा इंग्ल्याण्ड, अष्ट्रेलिया र न्यूजिल्याण्डले २/२ खेल खेल्नेछन् । तीन टोलीमध्ये सबैभन्दा बढी अंक ल्याउने दुई टोलीबीच फाइनल खेल हुनेछ ।








