
काठमाडौं । नेपाली क्रिकेटको विवाद समाधानको प्रयास गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को टोली शनिबार नेपाल आउने भएको छ । आईसीसीका कार्यवाहक प्रमुख ईमरान ख्वाजा नेतृत्वको टोलीले पर्सि सल्लाहकार समितिसँग छलफल गर्ने कार्यक्रम रहेको छ । देशभित्रैबाट विवाद समाधानको पहल गर्न आईसीसीले ८ सदस्यीय सल्लाहकार समिति बनाए पनि समितिले प्रभावकारी काम गर्न सकेको छैन ।
समितिकै अग्रसरतामा क्यानको नयाँ विधान मस्यौदा गरिए पनि एउटा पक्षले विधानमा मनोमानी संशोधन गरेपछि आईसीसीले यसलाई मानेको छैन । आईसीसीले निलम्बित क्यान पुनर्गठन गर्न चित्तबुझ्दो कारण र आधार पेश गर्न दिएको मध्य डिसेम्बरसम्मको समय यसै सकिएको छ ।
फेब्रुअरीमा आईसीसीको बोर्ड बैठक बस्ने भएकोले विवाद समाधानको अन्तिम प्रयास गर्न टोली काठमाडौं आउन लागेको हो । यो भ्रमणमा समेत सहमति नजुटे फेब्रुअरीको बैठकबाट क्यानको सदस्यता नै खारेज गर्नेसम्मको विकल्प आईसीसी टोलीले खुला राखेको चेतावनी यसअघि नै दिईसकेको छ ।






