सिड्नी-अष्ट्रेलियाको प्रधानमन्त्री माल्कम टर्नबुल ले २५० डलर जरिवाना तिर्नु पर्ने भएको छ । निउ साउथ वेल्स मरिटायिमले २५० डलर जरिवाना गरेको छ ।
बिदा मनाउन श्रीमती लुसीसहित आफ्नो घर पुगेका प्रधानमन्त्री लाईफ ज्याकेटविनै डुंगामा सवार भएपछि निउ साउथ वेल्स मरिटायिम अधिकारीले कानुनको अवज्ञा गरेको भन्दै जरिवाना गराएको अष्ट्रेलियन समाचार एबीसी न्यूजले जनाएको छ । अष्ट्रेलियाको सिड्नी हार्वरनजिकै रहेको आफ्नो घर आसपासमा डुंगामा सवार प्रधानमन्त्री माल्कम टर्नबुलले लाईफ ज्याकेट (पहेँलो भेष्ट) नलगाई आफ्नै बोट चलाएर पानीमाथि सयर गरेको अभियोग लागेको थियो । प्रधानमन्त्री टर्नबुलका प्रवक्ताले जरिवाना पुर्जी प्राप्त हुनासाथ प्रधानमन्त्रीले जरिवाना रकम तिर्ने बताएका छन् ।
प्रधानमन्त्री माल्कम टर्नबुलले सामाजिक संजाल फेसबुकमार्फत आफ्नो गल्ती स्वीकार्दै आफू जमिनको साथ भन्दा धेरै टाढा नभएको भएता पनि सुरक्षाको हिसाबले आफूले अन्जानमा कानुनको अवज्ञा गर्न पुगेको प्रतिक्रिया दिएका छन् । उनले आइन्दा यस्तो गल्ती नगर्ने प्रतिबद्दता जाहेर गरेका छन् ।







