काठमाडौं । सरकार सञ्चालनका लागि स्पष्ट बहुमत प्राप्त गरेको नेपालको वाम गठबन्धनलाई भारतले औपचारिक बधाई समेत दिएको छैन् । भारतीय संस्थापन नजिक मानिने टाइम्स अफ इण्डियाले नै बहुमत प्राप्त गर्ने एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डलाई वधाई नदिएर मौनता साँधेकोमा भारतमाथि प्रश्न उठेको जनाएको हो । यस बारेमा नयाँदिल्लीमा नै बहस सुरु भएको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीशकुमारले मंसिर २८ को नियमित पत्रकार सम्मेलनमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको नेपाली जनतालाई वधाई दिएका थिए । उनले निर्वाचनबाट आएको नयाँ सरकारसँग सहकार्य गर्न भारत आतुर रहेको समेत बताएका थिए तर वाम गठबन्धनलाई बहुमतका लागि बधाई दिएका थिएनन् ।
जतिबेला उनले निर्वाचनका लागि नेपाली जनता र दलहरुलाई वधाई दिईरहेका थिए, त्यसबेला सम्ममा वाम गठबन्धनको प्रष्ट बहुमत आउने निश्चित जस्तै थियो, यद्यपि परिणाम आउने क्रम जारी थियो । त्यसपछि पनि एक साता नाघिसकेको छ । समानुपातिकतर्फको सिट बिभाजन नभए पनि मत प्रतिशत आइसकेको अवस्थामा अव नेपालमा ओली नेतृत्वमा वाम सरकार बन्ने प्रष्ट छ । तर भारतले औपचारिक रुपमा वाम गठबन्धनका प्रमुख नेता एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भने वधाई दिएको छैन ।
टाइम्स अफ इण्डियामा आएको एक रिपोर्ट अनुसार भारतले औपचारिक रुपमा ओली–प्रचण्डलाई वधाई दिन बाँकी रहेको उल्लेख गर्दै अन्तिम परिणाम पर्खिरहेको बताएको छ । ओली–प्रचण्डलाई वधाई नदिएर मौनता साँधेकोमा भारतको नेपाल नीतिमाथि पुन प्रश्न उठेको समेत रिपोर्टमा उल्लेख छ ।








